STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जालमा परेर छ वटा गोही मरे 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् । 
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो तिहारी जालमा परेर ती गोही मरेका हुन् । 
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सौराहाबाट मेघौलीसम्म राप्ती नदीमा ती गोही मरेका हुन् । पाँचवटा जालमै परेका गोहीलाई उद्धार गरिएको उहाँले बताउनुभयो । कतिपय जालबाट फुस्किएर भाग्ने गरेका उहाँको भनाइ छ । 
खड्काका अनुसार खुट्टामा जाल बेरिएमा पौडी खेल्न नसकेर छिटो गोही मर्ने भए पनि शरीर र मुखमा जाल बेरिएका गोही खान नपाए पनि पाँच÷छ महीनासम्म बाँच्न सक्ने उहाँले बताउनुभयो । त्यस्तो अवस्थामा पुगेका गोही कङ्कालजस्तो बनेर मर्ने गरेको पाइन्छ । 
साँझको समयमा जाल थाप्ने र बिहान सङ्कलन गर्ने प्रचलन बढिरहेको भन्दै उहाँले त्यस्ता जालमा अड्किएर गोही मर्ने गरेको पाइएको बताउनुभयो । निकुञ्जले हाते जाल प्रयोगका लागि स्थानीय बोटे जातिलाई अनुमतिपत्र दिने भए पनि अटेर गरी लुकिछिपी तिहारी जाल राख्ने गरेको पाइन्छ ।
 
तिहारी जाल भलिबलको नेटजस्तै ठूलो हुने गर्दछ । यो बलियोसँगै ठूलो पनि हुने भएकाले जालमा परेको गोही निस्कन सक्दैन । खड्काका अनुसार जालको धागोले शरीरमा काट्ने, चोट लाग्ने र मुख एवं शरीर बेरिन्छ । मुख बेरिदा खान सक्दैन भने शरीर बेरिदाँ पौडन नसकेर गोही मर्ने गर्दछ । गत आर्थिक वर्षमा जालमा परेर तीनवटा गोही मरेका थिए । 
दुई वर्षअघि नारायणी नदीमा घडियालको भाले जालमा परेर मरेपछि बर्दियाबाट भाले गोही ल्याइएको थियो । हाल पनि राप्ति र नारायणीमा न्यून सङ्ख्यामा मात्र भाले गोही रहेका छन्् । खड्काका अनुसार घडियाल मारे एकदेखि १० वर्षसम्म कैद वा रु एक देखि पाँच लाखसम्म जरिवाना वा कैद तथा दुवै हुने कानूनी व्यवस्था छ तर घडियाल मारेको आरोपमा कोही समातिने र कारवाही हुने गरेको छैन । नदी प्रदूषित बन्दै जाँदा यो जलचर शङ्कटमा पर्दै गएको देखिन्छ । हालसम्म नेपालका विभिन्न नदीमा एक हजार ४६५ गोही हुर्काएर छोडी सकिएको छ । 
राप्ती नदीमा मात्र ७८५ गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर छाडी सकिएको छ । यद्यपि गत वर्षको गणनामा ११८ मात्र गोही फेला परेका थिए । शङ्कटापन्न अवस्थामा रहेको यो जलचर लोप हुन नदिन सरकारले सन् १९७८ मा प्रजनन केन्द्र स्थापना गरी गोही हुर्काएर नदीमा छाड्दै आएको छ । चालू आवको हालसम्म राप्तीमा १०० गोही छाडी सकिएको छ ।
Categorized in अपराध-दुर्घटना