STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जनजातिहरुको नोकरी विवाद

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ८, बुधबार

सेनामा भर्तीका विषयमा लिम्बु र तामाङ जातिमा सन्दर्भमा भने फरक धारणा बनाइएको थियो । गुरुङ र मगरहरुलाई जसरी सेनामा भर्ती लिइन्छ त्यसरी लिम्बु र तामाङलाई नगर्ने नीति अख्तियार गरियो । यो परम्परा पृथ्वीनारायण शाहपछि पनि कायम रह्यो । तामाङहरुले सेनाहरुको भारी बोक्ने पद पिपा मात्र भर्ती हुन पाउने भए । दुरा समुदायका मानिसहरुले पनि सेनामा भर्ती हुन पाउँदैनथे । शाही सेनामा भर्ती हुन नपाउने भएकाले यिनीहरुलाई विदेशीहरुले पनि आफ्नो सेनामा भर्ती गर्दैनथे । त्यसो हुँदा सेनामा भर्ती हुन चाहने लिम्बू, तामाङ, या गुरुङ दुरा आदि लेख्न थाले । दुराहरुले दुरा गुरुङ या गुरुङ दुरा आदि लेख्न थाले । यसरी सेनामा भर्ती हुन नपाउने भएपछि ती जातिहरु भारतको दार्जलिङ, सिक्किम, आसम, बर्मा आदि ठाउँतिर रोजगारको खोजीमा जानथालेका थिए । यस प्रकार यी जनजातिका पुराना किपट प्रथाहरुको अन्त हुँदै गए । उनीहरुका स साना मुख्येलीहरु गुमिसकेका थिए । उच्च दर्जा यिनीहरुका लागि वर्जित गरिएको थियो । आर्यमूलका जातिले प्राप्त गर्ने सुख सुविधाहरुबाट यिनीहरुलाई वञ्चित गरिदै लगियो । समाजमा ब्राह्मण, क्षत्रिय र ठकुरीहरुको सामाजिक अवस्थालाई उच्च बनाउँदै लगियो । जनजातिहरु (आदिवासी) लाई अर्धदास र दासको स्थितिमा झारियो । हिन्दू उच्च वर्गले राज्यबाट गुठी, बिर्ता, जागिरका नामबाट जग्गा प्राप्त गर्न थाले । जसबाट बाहुन क्षत्रियहरुको संख्या नेपालको पहाडी भागमा प्रशस्त फैलिन थाल्यो र जनजातिहरुले आबाद गरेका मलिला जमिनहरु बाह्मण क्षत्रिय र ठकुरीजस्ता आर्यहरुका हातमा पर्न गई जनजातिहरु डाँडाकाडाँतिर उक्लन बाध्य भए । किपट प्रथा अन्तर्गतको जमिनहरु अन्य जातिहरुले राई, लिम्बूहरुबाट किन्न नपाउने व्यवस्था भएकोले मात्र उनीहरुका जमिन सुरक्षित भए तर त्यसमा पनि भुमिसुधार प्रथाले एउटा बज्रपात पा¥यो । यो प्रथा लागु भएपछि किपट प्रथालाई पनि रैकरमा परिणत गरियो र राजिनामा हुने व्यवस्था गरियो । यसबाट लिम्बूहरुको सुरक्षित जमिनसमेत अन्य जातिहरुले किन्न पाउने भएबाट लिम्बूहरुले आफ्ना जमिन गुमाउँदै गए । जनजातिहरु आर्यहरुबाट अझ शोषित त भए जब भारतमा १८५७ मा सिपाही विद्रोह भयो , त्यसबेला शत्रुको पक्षबाट बच्नका लागि भारतीयहरुले नेपाललाई सुरक्षितस्थलको रुपमा लिए र नेपाल पसे । त्यसअघि यहाँका तराई क्षेशमा घनाजंगल भएको हुँदा औलोको प्रकोप थियो । त्यसकारण त्यस क्षेत्रमा बाहिरका मानिसका आँखा गडेका थिएनन् । बाहिरका मानिसहरु मात्र होइन खुद नेपालका शासकहरुलाई पनि यहाँका मा राम्रो ज्ञान थिएन । तर त्यो सिपाहीविद्रोह पछि उत्तर भारतका ब्राह्मण क्षत्रिय तथा अन्य जातिहरु खेतीयोग्य जमिनको खोजीमा र व्यापारका लागि नेपालका तराई फाँटहरुमा बसाइँ सर्न लागे । यहाँका घनाजंगलहरु फँडानी गरी आबाद गर्न श्रमिकहरुको आवश्यकता पर्न गयो जसको परिपूर्ति थारु, दनुवार, दरैं, माझि, झांगडजस्ता जातिहरुबाट गरियो । नेपालका यी आबादित क्षेत्रहरु भारतका लागि कच्चा पदार्थको आपूर्ति केन्द्र बन्न गए । २००७ सालमा नेपालबाट राणाशाषनको समाप्तिपछि राणाहरुको थिचोमिचोमा परेका, राणाहरुद्धारा देशनिकाला भएका, स्वेच्छाले मुलुक छाडी प्रवास गई बसेकाहरु धमाधम स्वदेश फिर्ता हुनथाले । २०१२ सालपछि सरकारले तराईको चितवनमा औलो उन्मूलनकार्य सञ्चालन गरी त्यहाँ पुनर्वास योजना सञ्चालन गरेपछि धेरैको ध्यान त्यतातर्फ आकृष्ट भयो । भारततर्फबाट नेपाल भित्रिनेहरु पहाडबाट तराई झर्नेहरु, सबैको ध्यान ती उब्जाउ भूमितर्फ आकृष्ट भयो जसको परिणाम त्यहाँका आदिवासी थारुहरु जो पहिले बहुमतमा थिए अहिले आएर अल्पसंख्याकमा झर्न गए । यसैगरी वि.सं. २०२१ सालमा बर्माबाट नेपालीहरुलाई धमाधम निकाल्न थालियो । त्यसरी निष्कासनमा परेका नेपालीहरुको पुनर्वास पनि तराई र भित्री मदेसका जग्गाहरुमा गराइयो । यी सबै कारणबाट नेपालका आदिवासी जनजातिहरु आफ्ना मूलथलोबाट पलायन हुँदै गए र उनीहरुका जमिनमा हिन्दूजातिहरुले अधिकार जमाउंदै गए ।
Categorized in विचार