STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खाग तस्करी गर्ने ८ जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १४, बिहिबार

चितवन- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बिहीबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।

विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र चितवन राष्ट्रिय निकुञ्जको संलग्नतामा एकीकृत अपरेसन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरिएको हो ।

विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती छन् । उनलाई मङ्सिर ९ गते चितवनको राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार रहेको महानिर्देशक ढुङ्गानाले बताए ।

चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान पनि पक्राउ परेका छन् । उनलाई सोही दिन राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडा मार्ने शिकारी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गैँडाको खाग बिक्री वितरणमा सहयोग गर्ने मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ पक्राउ परेका छन् । उनीसमेत राप्ती नगरपालिका–६ बाट पक्राउ परेका हुन् ।

गैँडा मारी खागको बिक्री गर्ने मुख्य योजनाकारका रुपमा मनहरी गाउँपालिका– ६ का ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम थिङलाई पनि सोही दिन सोही क्षेत्रबाट पक्राउ परेको ढुङ्गानाले जानकारी दिए । खाग बिक्री वितरणमा सहयोग गरेको अभियोगमा रोल्पाको सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अर्जुन रोका पक्राउ परेका छन् । उनलाई पनि राप्ती–६ बाट नै मङ्सिर ९ गते नै पक्राउ गरिएको हो ।

सोही अभियोगमा गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरुङलाई अन्यसँगै राप्तीबाटै पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै राप्ती नगरपालिका–५ बाट मङ्सिर ११ गते गैँडा मार्ने शिकारीको अभियोगमा चितवनको राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतानलाई पक्राउ गरिएको छ । सोही ठाउँबाट सोही दिन मकवानपुरको मनहरी नगरपालिका–७ ज्यामिरे घर भई हाल चितवनको माडी नगरपालिका–९ बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङलाई पक्राउ गरेर सार्वजनिक गरिएको हो ।

पक्राउ परेकाको साथबाट दुई थान गैँडाको खाग, भरुवा बन्दुक एक थान, बिँड नभएको बन्चरो एक थान, कालो झोला, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाइट, डिक्ची, पटका बारुद, दुई थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको छ । 

गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रस्थित कोर इलाकामा दुई वटा पोथी गैँडालाई खाडल खनी मारेर खाग लगेको अवस्थामा भेटिएका थिए । उक्त घटनाको अध्ययन गरी सुझाव पेश गर्न वन तथा वातावरण मन्त्रालयबाट मङ्सिर १ गते विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि, कानुन अधिकृतसहितको पाँच सदस्यीय छानबिन टोली गठन भई स्थलगत अध्ययन अनुसन्धान पश्चात् तयार भएको छानबिन प्रतिवेदन विभागमा बुझाइएको छ । 

पत्रकार सम्मेलनमा ढुङ्गानाले प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लगिने प्रतिबद्धता व्यक्त गरे । संरक्षित वन्यजन्तुको चोरी शिकारलाई विभागले गम्भीर रुपमा लिएको भन्दै देखिएका कमिकमजोरीलाई सुधारी सुरक्षा प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक समन्वय गरिसकेको उनले बताए । 

ग्राहक बनेर पुगेको थियो प्रहरी

पक्राउ परेकामध्ये मुख्य योजनाकार मानिएका रमेश खाती यसअघि पनि पक्राउ परेर छुटेका व्यक्ति हुन् । अघिल्ला घटनाहरूमा अनुसन्धानका क्रममा गैँडा मार्ने तथा खाग किनबेच गर्ने काममा संलग्न नदेखिएको भन्दै छुटेका उनी यो घटनामा भने योजनाकार भएको निकुञ्जको दाबी छ । अन्य भने यस्तो घटनामा पहिलो पटक सहभागी भएको देखिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार खाग कहाँ लगेर बेच्ने भन्ने योजना बिनै गैँडा मारेका थिए । गैँडा मारेपछि ग्राहक खोजीमा लागेका थिए । सीआईबीका अनुसन्धान अधिकृतहरू खाग किन्ने ग्राहक बनेर उनीहरूसम्म पुगेका थिए ।

उनीहरूको साथबाट दुबै खाग बरामद भएको छ । १८ वर्षको गैँडाको १८ इन्च गोलाई तथा ६ इन्च उचाइ भएको ४६० ग्रामको खाग र वर्षको गैँडाको ११.८ इन्च गोलाई तथा २ इन्च उचाइ भएको ६० ग्राम तौल भएको खाग बरामद भएको छ । 

पक्राउ परेका ८ जनालाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । 

सुरक्षा लापरवाहीले घटना

ठूलो गैँडाको मुख खाडलको तल्लो भागमा मुख जोतिएको मुन्टो भाँचिएर मरेको थियो भने सानो गैँडा कुनै वस्तुले आक्रमण गरेर मारेको अवस्था भेटिएका थिए । सानो गैँडा मारेको खाडलको १५/२० मिटर पर घोल छ । घोल नजिकै तस्करले खाडल खनेर गैँडा मार्नु निकै चुनौतीपूर्ण मानिन्छ ।

खाडल खनेर त्यहाँको माटो अन्यत्रै फालेको र खाडलमाथि हरियो घाँस लगायतले छोपेको गैँडालाई धरापमा परेको देखिएको थियो । तस्करहरूलाई यो सबै काम एकाध दिन गर्न सम्भव थिएन ।

तर निकुञ्जका अधिकारीहरुले गैँडा मारिएको स्थानमा ७ दिन अगाडिसम्म गस्ती गरिएको दाबी गरेका थिए । सीआईबीको अनुसन्धानका क्रममा तस्कर समूहले निकुञ्जको सुरक्षा पोस्टबाट २.३ किलोमिटर र राप्ती नदीबाट करिब ३.५ किलोमिटर नजिकै ७ वटा खाडल खन्नेदेखि गैँडा मार्नेसम्मको सबै काम २० दिनमा सकाएको पाइएको डीएसपी दुर्गा दाहालले बताए ।

Categorized in अपराध-दुर्घटना