STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरको ठमेल बजारै हो त ‘नेवाः लहना’ !

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १४, मंगलबार

नेवाः लहना अर्थात् नेवाः सभ्यता । १२ बर्षमा प्रवेश गरिसकेको नेवाः लहना, कीर्तिपुर १ वडास्थित थांबहाः टोलमा रहेको छ । जबदेखि उक्त टोलमा नेवाः लहना स्थापना भयो, स्थापनासंगै नेवाः लहना बिस्तारै चर्चित हुँदै आयो । कीर्तिपुर बाहिरका अधिकांश ग्राहकहरु नेवाः लहनाको ‘फ्यान’ हुँदै आकर्षित हुन थाल्यो नेवाः लहना । यो एक आर्थिक समृद्धिको सिलसिलमा नेवाः लहनाको लागि राम्रो पक्ष हो ।

नेवाः लहना आउने बाटाका टोलहरुको कुरा गर्ने हो भने, इन्टरनेट–गुगलमार्फत नेवाः लहनाको जानकारी लिई आउँने तर नेवाः लहनाको ठेगाना थाहा नहुने कुनै कुनै ग्राहकहरुले गाडी या मोटरबाईक रोकी स्थानीय टोलका बासिन्दाहरुलाई सोध्ने गर्छन् कि ‘यहाँ थ्वँ बहाः कता हो ?’, ‘नेवाः लहना थ्वँ बहाः कता हो ?’

बास्तवमा टोलको नाम थांबहाः, शुद्ध नेवारी नामबाट राखिएको ऐतिहासिकताले भरिएको टोलको नाम हो यो । थांबहाः, कुनै अर्थ र इतिहास लुकेको छ यो टोलको नामभित्र । तर आज त्यो ऐतिहासिक शब्द अप्रभंश भएर थांबहाः ‘थ्वँ बहाः’मा परिणत हुँदैछ । ‘थां’को अर्थ ‘खम्बा’ र ‘बहाः’को अर्थ ‘बहाल’, यो हिसाबमा थांबहाःको अर्थ खम्बाको बहाल हो । अनि ‘थ्वँ’को अर्थ ‘छ्यांग–जाँड’ र ‘बहाः’को अर्थ ‘बहाल’, यो हिसाबमा अप्रभंशित हुँदै आइरहेको थ्वँ बहाःको अर्थ ‘छ्यांग–जाँड बहाल’ हुनगयो । अप्रभंशित यो शब्दबाट नेवाः लहना र नेवाः लहना टोल थांबहाः तथा टोलबासीमा के कतिको असर पर्छ ? ब्याख्या गर्नु पर्ने सन्दर्भ होइन । यस्तै यसबाट सिंगो कीर्तिपुरलाई के असर पर्छ ? यो चाहिँ गम्भीर प्रश्न हुनसक्छ ! कुनै ठामको नाम अप्रभंश भई नकारात्मक अर्थ जनाउने भइयो भने त्यो ठामले बदनामीको रुप लिन्छन् । उदाहरण थांबहाःको अप्रभंश थ्वँबहाः, थ्वँबहाः नकारात्मक अर्थ जनाउने भइयो । थ्वँ अर्थात् छ्यांग–जाँड, समुदायको लागि नकारात्मक र खराब शब्द र खराब पेयपदार्थ । अनि त बदनामीको रुप भयो नि यो शब्द । यसले ठाम, टोल हुँदै नगरसम्म अनि नगरदेखि शहर, बस्ती–बस्तीसम्म र देशविदेशसम्म नकारात्मक ठामको रुपमा विकसित हुँदै जान्छ, यो स्वयंसिद्ध तथ्य हो ।

कीर्तिपुर बाहिरका नेवाः लहनाका ग्राहकहरुले जानीनजानी भन्यो होला, सम्बन्धित पक्षले त्यो ठाम सम्बन्धी सही शब्द प्रयोग गर्न र गराउनको लागि पहल पनि गर्नु पर्ने हो नि, तर यसमा ध्यान दिएको छैन । कीर्तिपुरभित्रका अधिकांश ठामको नाम अप्रभंश हुँदै आइरहेको छ । पुराना ऐतिहासिकता बोकेका ठामका नामहरु परिवर्तित भई नयाँ नौलो नामबाट परिचित हुँदै आइरहेका छन् । तर न त सम्बन्धित पक्षको ध्यान गएको छ, न त नगरपालिकाको नजर त्यसमा परेको छ । यो एक गम्भीर समस्या र चुनौतीको रुपमा डगमगाइरहेको छ कीर्तिपुरमा । भनिन्छ अप्रभंश भनेकै घातक भाइरस हो । भोलि यसले कीर्तिपुरको पर्यटन क्षेत्रसंगै ऐतिहासिक परिचयको क्षेत्र तथा सम्पूर्ण क्षेत्रमा घातक दुर्घटनाको उग्र रुप नलिएला भन्न सकिदैन होला । समय छ, अहिले पनि समाधान गर्न सकिन्छ, यदि यस विषयमा कीर्तिपुर जागृत भएको खण्डमा ।पर्यटकीय, व्यापारिक दृष्टिकोणले कीर्तिपुरको लागि गौरवको विषय हो, नेवाः लहना । नेवाः लहनासंगै ससः दी रेष्टुरेण्ट, माःक्वाःचा गार्डेन, कीर्तिपुर प्वाइन्ट भ्यू रेष्टुरेन्ट, कःसि क्याफे रेष्टुरेन्ट, समेबजि दी नेवाः रेष्टुरेन्ट, चुक रेष्टुरेन्ट इत्यादीको स्थापना पनि कीर्तिपुरको पर्यटकीय, व्यापारिक हिसाबले सकारात्मक पक्ष हो । यसमा सम्पूर्ण कीर्तिपुरबासीले समर्थन र गौरव गुर्न नै पर्छ । तर नकारात्मक हुरी चल्यो भने त्यसलाई छेक्ने सकारात्मक बाटो पनि अपनाउनु पर्छ । एउटा आलु बोरामा एक कुहिएको आलु भयो भने त्यस कुहिएको आलुले सब आलु कुहाइ दिन्छ भनेझैं नहोस् । बेलैमा बोराबाट कुहिएको आलु निकाल्न सकोस् ।

सन्दर्भ नेवाः लहनाको, अचेल मानिसहरु भन्ने गर्छन् कि, नेवाः लहना पनि ठमेल बजार भइसक्यो रे ! हरेक क्षेत्रका ग्राहकहरु, अनि विदेशी पर्यटकहरु पनि आकर्षित हुँदैछन् नेवाः लहनाबाट । हरदिन घुइँचो नेवाः लहनामा । ठमेल बजारमा विदेशी पर्यटकहरुको चाप, नेवाः लहनामा पनि स्वदेशी तथा विदेशी पर्यटक ग्राहकहरुको चाप । त्यसैले त भन्यो होला, ‘नेवाः लहना’ कीर्तिपुरको ठमेल बजार ।

अहिलेको कीर्तिपुरको परिस्थितिको कुरा गर्ने हो भने– ऐतिहासिक कीर्तिपुर, आफ्नो मौलिक इतिहासबाट हैन कि जाँड रक्सीको संगमस्थलबाट परिचित हुँदै आइरहेको छ । कीर्तिपुर बाहिरका मानिसहरु कीर्तिपुर सम्झिने बित्तिकै यही जाँड रक्सीको व्यापारिक केन्द्रको रुपमा लिने गर्छन् । सम्बन्धित निकाय, संघसंस्था एवं कीर्तिपुर सम्बद्र्धन, विकासका अभियन्ता र अगुवाहरुले खै त कीर्तिपुरको मौलिकता, इतिहासलाई उजागर गरेको ? अहिलेको सन्दर्भमा, यस विषयमा ध्यान दिनु अत्यावश्यक भईसकेको पक्षमा सचेत नागरिकहरुका गुनासा तरंगित हुँदै आइरहेका छन् ।

(कीर्तिपुरबाट प्रकाशित स्वर्णिम सन्देश साप्ताहिकबाट साभार)

Categorized in विचार