STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कार्तिक नाचको बराह भगवानले लगाउने मुकुट करिब सय वर्षपछि फेरिने

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ११, बिहिबार

पाटन दरबार क्षेत्र मंगलबजारस्थित   हरेक वर्ष कार्तिक महिनामा मन्चन गरिने पौराणिक नृत्य अन्तर्गत देखाइने  कार्तिक डबलीमा बेलुक भोलि शुक्रबार बराह नाच देखाइने भएको छ । भगवान् विष्णुको तेस्रो अवतार वराहको नाच हो । कार्तिक नाच अन्तर्गत नरसिंह नाचपछिको मुख्य आकर्षण भनेको बराह नाच हो ।  

सयवर्ष  अगाडि देखि बराह अवतारले लगाउने मुकुट करिब सय वर्षपछि फेरिने भएको छ । पुरानो र जीर्ण भइसकेकोले मुकुट फेर्न लागिएको हो भने बराहले शिरमा नयाँ मुकुट लगाएर भोेलि शुक्रबार पाटन दरबार क्षेत्र मंगलबजारस्थित कार्तिक डबलीमा  बराह नृत्य देखाइने भएकोछ । भगवान् विष्णुको तेस्रो अवतार बराह अवतार नृत्य हो । 

कार्तिक नाच अन्तर्गत नरसिंह अवतार नृत्यपछिको मुख्य आकर्षण भनेको बराह नृत्य हो । बराह अवतार नृत्य अन्तर्गत भगवान् विष्णुले हिरण्याक्षको वध गर्न वराहको अवतार लिनुभएको कथा छ । सो नृत्यमा इन्द्रगण र देवगणसहित बराह अवतार देखाईने छ ।

ललितपुर महानगरपालिका– १६ वडाले नयाँ मुकुटको लागि लाग्ने सम्पूर्ण खर्च व्यहोरेको कार्तिक नाच संरक्षण समितिका कार्यकारिणी सदस्य एवं प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्यायले जानकारी दिनुभयो । अहिले प्रयोग गर्दै आएको मुकुट कति वर्ष पुरानो भनेर यकिन गर्न सकेको छैन तैपनि हामीले सुने अनुसार अहिलेको मुकट सय वर्ष भन्दा बढी भइसकेको अनुमान गर्न सकिन्छ भनि संयोजक राजोपाध्यायले भन्नुभयो ।

१६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो भने सोही वडाले कार्तिक नाचको अक्षयकोषको लागि शुक्रबार नै १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्न लागिएको छ । कार्तिक नाचको निरन्तरताको लागि गत वर्ष प्रतिबद्धता व्यक्त गरे अनुरुप चेक हस्तान्तरण गर्न लागेको कुरा ललितपुर १६ वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।

कोरोना संक्रमणका कारण यस वर्ष बराह र नरसिंह नाच मात्र देखाउन लागिएको हो । कोरोना संक्रमणका कारण कलाकार र सञ्चारकर्मीहरु मात्र राखेर नाच देखाउने समितिले जनाएको छ । गत वर्ष कार्तिक नाच १२ दिनसम्म देखाइएको थियो । नाचको लागि विहीबार धार्मिक विधिपूर्वक नासद्यः (नाट्यश्वरी) को पुजा गरिएको थियो ।

कार्तिक नाच ३ सय ८० वर्ष पुरानो नाच रहेको छ । सो नाच मल्लकालका तीन जना राजाको परिकल्पना र श्रृजना हुन्। शुरुमा राजा सिद्धिनरसिह मल्लले १६९७ मा आफ्ना शिक्षा गुरु हरिवंश राजोपाध्याय र तन्त्र गुरु विश्वनाथ उपाध्यायलगायतका सहयोगमा सो नाचको शुरु गर्नुभएको थियो । नाचमा उहाँको छोरा श्रीनिवास मल्लले केही अशं थप गर्नुभएको थियो । त्यसैगरी योगनरेन्द्र मल्लले त्यसलाई जीवन्तता दिन थप योगदान दिनुभएको थियो ।

Categorized in उपत्यका