STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेसका शालीन नेता जाेशीकाे निधन

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १४, शनिबार

नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार बेलुका उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । 

मष्तिष्कघात भएपछि गत १४ फागुनदेखि नर्भिक अस्पतालकाे भेन्टिलेटरमा उपचाररत थिए ।

श्रद्धाञ्जलीका लागि आज जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार जोशीको पार्थिव शरीर बिहान १०:०० बजेदेखि दिउँसो १.०० बजेसम्म केन्द्रीय कार्यालयमा राखिनेछ ।

त्यस्तै, कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । कांग्रेसले नेता जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्न शनिबारका लागि बैठक डाकेको हो । शनिबार बिहान ९.३० बजे कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने प्रवक्ता शर्माले बताए । 

कांग्रेस सभापति शेरबहादुर देवाउले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीलाई क्षति पुगेको बताएका छन् । जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको पनि बताएका छन् ।

जोशीको निधनमा दुःख व्यक्त गर्दै सभापति देउवाले लेखेका छन्, 'नेपाली कांग्रेसका नेता, कुशल संगठक एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।'

नवीन्द्रराज जोशी काठमाडौंका रैथाने बाबु गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट लाजिम्पाटमा आजभन्दा ५९ बर्षअघि ०१८ सालमा जन्मिएका थिए । जोशीको राजनीतिक जीवन ०३६ सालको राजनीतिक आन्दोलनबाट सुरु भएको हो । त्रिचन्द्र कलेजमा अध्यायन गरिरहेका जोशी प्रजातन्त्र स्थापनाका लागि बिद्यार्थी राजनीतिमा जोडिएका थिए ।

जोशी त्रिचन्द्र क्याम्पसमा अध्ययनरत रहँदा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सचिव निर्वाचित भएका थिए । त्यही राजनीतिक संघर्षले विद्यार्थी राजनीतिमा खारिदैँ गए । र, नेविसंघको काठमाडौं जिल्ला उपाध्यक्ष र अध्यक्ष हुदै केन्द्रसम्म पुगे । जोशी नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री समेत निर्वाचित भएका थिए । तर, उनी ०४८ सालको अधिवेशनमा भने अध्यक्षमा पराजित भएपछि पार्टी राजनीतिमा संलग्न भएका थिए । जोशी ३१ बर्षको उमेरमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका थिए ।

०४६ सालको राजनीतिक परिवर्तनलगतैको नेविसंघ अधिवशेनबाट अध्यक्षमा निर्वाचित हुन नसकेपछि जोशी स्थानीय राजनीतिमा होमिएका हुन् । ०४८ सालमा विद्यार्थी राजनीतिबाट विदा लिएका जोशी ०४९ सालमा काठमाडौं महानगरपालिकामा उपमेयर निर्वाचित भए । त्यतिबेला काठमाडौंको मेयरमा कांग्रेसबाटै पिएल सिंह निर्वाचित भएका थिए ।

उपमेयर भई महानगरमा काम गर्ने क्रममा काठमाडौंको खानेपानी व्यवस्थापनमा जोशीले कुशलता प्रदर्शन गरेको बताईन्छ । दुईपटक कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित जोशी अहिले पनि कांग्रेस केन्द्रीय सदस्य थिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जोशी आउँदो महाधिवेशनमा महामन्त्रीको दाबेदार थिए । महामन्त्रीको उम्मेदवारीको तयारी गर्न स्थानीय कार्यकर्ता र नेताहरुसँग दौडधुपमा रहेका जोशीलाई १४ फागुनमा एक्कासी मष्तिस्कघात भएको हो ।

पहिलो र दोस्रो संविधानसभामा जोशी काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका थिए । पहिलो संविधानसभाको ताका कांग्रेसको प्रवक्तासमेत भएका जोशी शालिन, भद्र स्वभावमा प्रस्तुत हुन्थे । दोस्रो संविधानसभापछि ०७३ मा कांग्रेस र माओवादीको समीकरणमा गठन भएको प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री थिए । त्यतिबेला जोशीले शाही औषधी लिमिटेड र उदयपुर सिमेन्ट कारखानालाई पुर्नजीवन नै दिएका थिए । त्यसबाहेक पनि रुग्ण उद्योगलाई पुर्नजीवन दिन जोशीले प्रशस्तै प्रयास गरेका थिए ।

नीतिगत निर्णयमात्र होइन, त्यस्ता उद्योगलाई राज्यको सहुलियतमा पनि जोशीले जोड दिएका थिए । उद्योग स्थापना गर्न र बन्द भएका उद्योगलाई गति दिने सन्दर्भमा जोशीले त्यतिबेला गरेको प्रयासलाई सकरात्मक मानिन्छ । जोशी ०५६ सालमा युवा स्वरोजगारको कार्यकारी उपाध्यक्ष नियुक्त भएका थिए ।

कांग्रेसका लौहपुरुष गणेशमान सिंहलाई आदर्श मानेर राजनीतिमा होमिएका जोशीले ०५२ लामा गणेशमान सिंह अध्ययन प्रतिष्ठान स्थापना गरेका थिए । त्यही बेलामा जोशीले गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्रसमेत निर्माण गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका जोशीलाई अध्ययनशील र बौद्धिक नेताका रुपमा पनि चिनिन्थ्यो ।

Categorized in व्यक्तित्व