कथा : ‘स्तनको कोठी’
Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २८, बिहिबार
– प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’
उसले मलाई धोका दिई, त्यो पनि नाटकीय रुपमा । कुनै चलचित्रको धोका जस्तो लाग्छ मलाई, मैले थापेको धोका । उस्ले बुनेको धोका फिल्मी शैलीको थियो र म एक असहाय त्यस चलचित्रको पात्र । त्यस युवतीको लागि सारा संसार त्यागेर विवाह गर्ने सोचसमेत बनाएको थिएँ । खेर गयो मेरा सारा यावत सपनाहरु, कति सजिलै ।
त्यो युवती मेरो डेरामा खुबै आउँथी । मसित के के सिक्ने बहानामा ऊ आइरहन्थी । म भन्थेँ–‘एक्लो पुरुष बस्ने डेरामा साँझ–साँझ नआऊ ।’
उस्ले भन्थी – ‘मान्नुस् कि म हजुरकी श्रीमती नै हुँ ।’ मेरो कोठाको हरेक बस्तु उस्ले छामिसकेकी छे । यहाँसम्म कि मेरो कोठाको भित्तामा टाँगिएको किलामा उस्का लुगाहरु झुन्डिसकेका छन् । तर, ऊ मेरो कोठामा जसरी आउँथी, उसरी नै बाहिरिन्थी । उस्को सैतान रुप र किटकिटी दाँतले टोकेर बनाएका घाउहरु मैले मात्र थापेको छु ।

ऊ शहरकी धनी बाउकी छोरी, म भने गरीब बाबुको छोरा । समानता हामीबीचमा कति पनि थिएन । तर पनि मलाई प्रेम गर्थी, असाध्यै, उखुमै । साँझमा एकफेरो मेरो डेरामा नआए उस्को दैनिकी अपुरो हुन्थ्यो । सोचेको पनि थिएन, यति विधि प्रेम गर्ने प्रेमिकाले मलाई यति सजिलै छोडेर जान्छे । छोडेर गएको त ठीकै छ, तर दुःख यस्मा छ कि यो शहरमा मलाई एउटा पुरुष यौनकर्मी बनाएर गइछे । मलाई सय पटक बलात्कार गरेर गएकी रहिछे । जुन कारोबारलाई म प्रेमसँग प्रेमको विनिमय सम्झिन्थेँ, त्यो त प्रेम र यौनको लेनदेन पो रहेछ । यो कुरा उस्को टेलिफोन वार्ताबाट प्रष्ट भयो ।
मलाई छोडेर गएको दुई महिनापछि उस्ले आफ्नै हैसियत र स्तरको एक व्यापारिक घरानाको केटोसित विवाह गरी । विवाह गरेको केही महिनापछि एकदिन उस्ले मलाई फोन गरी र सोधी – ‘हालखवर के छ ?’
मैले भनेँ – ‘तिमीलाई नै सम्झेर बाँचिरहेको छु ।’
उसले भनी – ‘बिर्सिदेऊ सारा विगतहरु । कसैलाई केही पनि थाहाँ छैन कि हामीबीच बन्द कोठामा के के भयो । जवानीमा दुवैको एउटा रहर थियो, उत्सुकता थियो, त्यो मेट्यौँ, सबै समाप्त अब । जीवन तिमीसित कसरी बिताउन सक्छु ? न सामाजिक स्टेटस नै मिल्छ हाम्रो ।
मैले भनेँ – हामीबीचका ती यौन सम्पर्कहरु ?
‘तिमीले पनि यो कुरा स्वीकार कि म भर्जिन थिएँ र अब मेरो पतिबाट तोडियो ।’
‘तिमी भर्जिन थिएनौ ।’
‘आधार छ तिमीसँग ?’
‘मैले तिमीसँग गरेको संभोगका कण्डमहरु अझै फालेको छैन ।’
‘के तिमी संभोगका ती कण्डमहरु च्यापेर मेरो कुमारित्व नष्ट भएको दाबिसहित अदालतमा प्रस्तुत हुन सक्छौ ?’
‘उसो भए यो टपिक बन्द गर । म भर्जिन थियो, मेरो समाजको लागि र मेरो श्रीमानका लागि ।’
‘अनि त्यो दुई वर्ष प्रेमको एक सय एक संभोगहरु के हुन ?’
‘के आधारमा भन्दैछौ तिमी एक सय एक ?’
‘म हरेक पटकको संभोगमा एउटा रेखा मेरो नोटबुकमा तान्ने गर्छु ।’
‘उसो भए एउटा ठूलो रेखा तानेर ती सबै रेखा एउटा ठूलो रेखाले काटिदेऊ । एउटा कुरा ख्याल गर कि तिमीसँगको एक सय एकको संभोगभन्दा मेरो श्रीमानको दुई संभोगलाई समाजले मान्यता दिइसक्यो । ती टुहुरा सेक्सहरुको हिसाव किताब नगर्दा हुन्छ ।’
यसो भन्दै उस्ले मोबाइल राखिदिई । एकक्षण भाउन्न भयो ।
केही दिन हाम्रो सम्पर्क भएन । थाहै नपाई म त उस्को प्रेम नाटकको शिकार भएछु । काठमाडौंका धनाढय बाउका छोरीहरुले म जस्ता गाउँले सोझा ठिटाहरुलाई यसरी नै धोका दिन्छन् कि अपवादको धोका हो यो ? सुरुमा अछामबाट काठमाडौं आउँदा झोलामा एकसरो लुगा, आमाको फोटो र किताब वाहेक केही थिएन । पछि त्यही झोला धेरै कुरामा प्रदुषित भयो । मेरो गाउँको बनमा फुल्ने गुँरासमा झैँ यहाँका कण्डमहरु पनि कृतिम रुपमा बास्नादार रहेछन् । कण्डममा पनि सुन्तरा, केरा र अरु के के फलको स्वादहरु ...... । मेरो झोला उस्कै कारण गन्हाएको थियो । यस्तै यस्तै सोचेर बसिरहेँ ।
एकदिनको कुरा हो, उस्को फेरि फोन आयो । मैले हेलो भने र फेरि भनेँ – ‘तिमी मेरी पत्नी हौ । फेरि पनि तिमीलाई मेरो जीवनमा स्थान छ ।’
उसले भनी – ‘के को पत्नी ?’
‘तिमीले मेरो हातको सिन्दुरले आफ्नो सिउँदो रँगाइसकेकी छ्यौ र मसित सुहागरात मनाइसकेकी छ्यौ ।’
‘त्यो एक धर्को सिन्दुर त्यही रात नै पुछियो त ।’
मैले भनेँ – ‘म अदालतसम्म जान्छु । तिमीले अझै मेरो श्रीमान् भन्दै तिम्रो ओठको लिपिस्टिक छापेर सम्बोधन गरेका अस्सी वटा प्रेमपत्र मसित सुरक्षित छन् ।’
‘अरे मुर्ख, केही पनि हुँदैन तिम्रा यी दाबीहरुले ।’
मैले भनेँ, ‘तिम्रो बारेमा मलाई सबथोक थाहाँ छ ? म हरेक कुरा दाबी गर्छु ।’
‘तिमीलाई केही पनि थाहा छैन मेरो बारेमा ?’
‘कसरी ?’
‘थाहा पाएको भए तिमीले धोका नै पाउने थिएन । भन तिमीलाई के थाहा छ मेरो बारेमा ?’
‘तिम्रो देब्रे स्तनमा आठ कोठी छन् । एउटा ठूलो र त्यस्का वरिपरी साना साना सात वटा अरु कोठीहरु । सायद यो कुरा तिमीलाई पनि थाहा नहोला । कुनै दिन आफ्नै ऐना छेउ निर्वस्त्र बनी औँला भाँच्दा हुन्छ । त्यसपछि फोन राखिदिएँ । लाग्यो, धनीबाउकी छोरीहरुको स्तनमा यस्तै कोठी हुन्छन् कि उस्को मात्र हो ।’
अचम्मका छन् यहाँका धनाढय बाउकी कोही, कोही छोरीहरु । सेक्स कसैसित, विवाह अरुसितै । यो पाप हो । फूल बरु टिपे, ओइलाउँछ, झर्छ । अरे पापी स्तनहरु, जति टिपे पनि ढकमक्क फुलिरहन्छ र आफ्नो श्रीमानलाई त्यो फूल सिउरिन दिएर पवित्र बन्छे । छोइएको, चाटिएको, कुटिएको, टोकिएको केही पनि दाग रहँदैन । अजीवका छन् यहाँ पापी स्तनहरु । अनि म जस्ता सोझा धोका पाएका प्रेमीहरु त्यहाँको कोठी मात्र सम्झेर बौलाउँछन् । म बौलाएँ छेपारा स्तनहरुको कारण । मेरो दुश्मनी छ अब स्तनहरुसित । आमाको दुई बर्षसम्म जीवनधारा चुसेर आएको त्यही स्तन हो भन्दा मलाई लाज लाग्छ । अरे आमाको बलिदानलाई कलंकित गर्ने पिपासुहरु, तिमीहरुको स्तन कुहिएर झरोस् ! म अब यस्ता बेश्या स्तनहरुलाई टोकेर घाउ नै घाउ बनाइदिन्छु । मैले अब टिपेँ भने फूल जस्तै झारिदिन्छु बिद्यारानीका स्तनहरु भुइँभरि असरल्ल, ताकि अपवित्र स्तनहरु अपवित्रै रहोस्, पवित्र नहोस् कैले पनि ...... । अनि म जस्तै नरोऊन कोही पनि धोका पाएर यो संसारमा एक्लै एक्लै, आमाको स्तनको सुन्दरतासँग, ती स्तनहरुको कुरुपता दाँजेर ।
(लेखक कथाकार प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्री’ चर्चित युवा साहित्यकार हुन् । उहाँ कीर्तिपुर नगरपालिका ९ वडाका जननिर्वाचित वडा सदस्य पनि हुन् ।)
Categorized in साहित्य-कला

