STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एससई नतिजा : बाल मनोविज्ञानमाथिको ‘मजाक’

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ६, शनिबार

माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, विद्यालयले ‘सित्तैमा प्रमाणपत्र दिएकोलगायतका टिप्पणीले बालबालिकामाथिको हिंसा भएको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् । परीक्षाको पूर्ण तयारीपछि एसइई स्थगित भएको थियो । परीक्षाको अघिल्लो दिन परीक्षा स्थगित भएपछि कतिपय विद्यार्थी त परीक्षा लेख्न नपाएकामा खिन्न भए । यतिबेला परीक्षाफल प्रकाशित भएपछि भने विद्यार्थीको ‘मनोविज्ञान’ नै प्रभाव पर्ने किसिमको प्रतिक्रिया आइरहेको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउनुहुन्छ । “नौ वर्ष विद्यालयले मूल्याङ्कन गर्दा कसैलाई केही नहुने तर अन्तिम वर्ष वा दशौं वर्षमा मूल्याङ्कन चाहीँ मजाक बनाउनु दुःखद् छ” भट्टराई भन्नुहुन्छ, “हामीले राम्ररी परीक्षा लेखाएर परीक्षाफल पठाएका हौँ । प्रश्नपत्र अहिले पनि हेर्न सकिन्छ । यति हुँदाहुँदै पनि परीक्षाफल शून्य भएको कसरी मान्न सकिन्छ ?” उत्कृष्ठ र मेधावी विद्यार्थीका लागि भने आन्तरिक मूल्याङ्कन चित्तबुझ्दो मापदण्ड नभएपनि सामाजिक सञ्जालमा प्रतिक्रिया आएजस्तो नभएको भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार विद्यार्थीको अध्ययन र क्षमताकै आधारमा परीक्षाफल विद्यालयले पठाएको हो । हुन त एसइईको मापदण्ड विगतमा पनि परीक्षाफल प्रकाशित हुँदा बढी र अरू बेला कम हुने गरेको थियो । केही वर्षअघि प्रवेशिका परीक्षा एसएलसीलाई अहिले एसइईमा रुपान्तरण गरिएको हो । परीक्षाको नाम भिन्न भएपनि परीक्षाको ढाँचा एकै किसिमको छ । एसएलसीमा दिइने श्रेणी (डिभिजन) लाई एसइर्ईमा ग्रेडिङका रूपमा प्राप्ताङ्क दिइन्छ । समय परिस्थितिअनुसार मूल्याङ्कन गर्ने पद्दतिको ढाँचामा परिवर्तन भएको बताउनुहुन्छ महेन्द्र रत्न बहुमुखी क्याम्पसका शिक्षा अर्थशास्त्र सङ्कायका उपप्राध्यापक पूर्णप्रसाद ढुङ्गाना । “एउटा विद्यालयले आफ्ना विद्यार्थी दशौं वर्षदेखि मूल्याङ्कन गरेको छ । एकैदिनमा १२ घण्टासम्म शिक्षक–विद्यार्थी सँगै रहेर अध्ययन गरेका छन्,” ढुङ्गाना भन्नुहुन्छ, “तल्लो कक्षामा यही मूल्याङ्कन वैज्ञानिक ठहरिने र माथिल्लो कक्षा १० मा भने अवैज्ञानिक ठहरिने हुँदैन ।” ढुङ्गाना एउटै परीक्षाले विद्यार्थीको भविष्य किटान गर्न नसकिने भएकाले अनावश्यक प्रतिक्रियाले विद्यार्थीको मस्तिष्कमा समस्या उत्पन्न हुनसक्ने बताउनुहुन्छ । विशेष परिस्थितिले एसइई परीक्षा गराउन नसकिएपनि समयानुसारको उत्कृष्ठ ढाँचा रहेको शिक्षा सरोकारवालाको भनाइ छ । कतिपय शिक्षा सरोकावाला भने तीन घण्टा परीक्षा लेखेका भरमा विद्यार्थीको मूल्याङ्कन गरिनु दुःखद् प्रणाली रहेको बताउँछन् । विगतका परीक्षा प्रणाली पनि वैज्ञानिक नभएकाले अहिलेको मापदण्ड नै प्रभावकारी नभएको नेपाल शिक्षक सङ्घका प्रदेश नं. १ का अध्यक्ष पूर्ण गौतम बताउनुहुन्छ । “शिक्षकले विद्यार्थी सबै पक्ष बुझेरै मापदण्ड बनाएका हुन्छन् । त्यसैले यसलाई हचुवाको भरमा नकारात्मक टिप्पणी गर्न मिल्दैन” गौतमले भन्नुभयो, “यस्ता टिप्पणीले बालबालिकाको बालमनोविज्ञान र मनो­सामाजिक प्रभाव पर्छ ।” बाहिरी टिकाटिप्पणीले बालमनोविज्ञानमा असर गर्ने भन्दै यसबाट सचेत भएर अघि बढ्न शिक्षा कार्यालयले भनेको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शम्भु थापामगरले अघिल्लो वर्षको परीक्षाफल, आन्तरिक परीक्षा, आवधि परीक्षाका आधारमा एसइईको मूल्याङ्कन गरिएको बताउनुभयो । परिस्थितिजन्य परीक्षाका रूपमा एसइर्ईको परीक्षा भएकाले यसबाट सबै परीक्षाको मूल्याङ्कन हुन नसक्ने उहाँको भनाइ छ । “केही विद्यालयले परीक्षाको मूल्याङ्कनमा तलमाथि गरेका होलान्”, मगरले भन्नुभयो, “यसो भन्दैमा सबै विद्यालय, विद्यार्थी र शिक्षक शिक्षिकालाई यसरी मुछ्नु हुँदैन ।” रासस
Categorized in विचार