STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमालेका मेयर उम्मेदवार केशव स्थापितको विगत नियाल्दा

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ११, आइतबार

अहिले काठमाडौं महानगरको एमालेका मेयर उम्मेदवार केशव स्थापित निकै चर्चामा छन् । बहुदलीय प्रजातन्त्र आएपछि २०४७ सालमा एमालेले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ स्थापना गर्दा ओली अध्यक्ष थिए भने स्थापित महासचिव । युवा परिचालन गर्नसक्ने र आँटेको कुरा गरिहाल्ने स्थापितको स्वभावबाट ओली त्यहींबाट प्रभावित भएका थिए । २०४९ को स्थानीय चुनावमा उनी महानगरको उपमेयरमा उठे । त्यतिबेला नवीन्द्रराज जोशीसँग झिनो मतान्तरले हारेका स्थापित पाँच वर्षपछि भने लोकप्रिय मतसहित महानगरको मेयरमा निर्वाचित भएका थिए ।

युवा संघमा देखाएको सक्रियताकै कारण २०५१ सालमा बनेको एमालेको अल्पमतको सरकारका बेला स्थापित राष्ट्रिय खेलकुद् परिषद्मा सदस्य सचिव नियुक्त भए । उनको एक वर्षे कार्यकालको खेलाडीहरू अहिले पनि प्रशंसा गर्छन् । 

स्थापित मेयर हुँदा काठमाडौंमा केही देखिने सुधार भए । सडक अतिक्रमण गरेर बनेका घर भत्काएर आकर्षक माइतीघर मण्डला उनकै पालामा बनेको थियो । तीनकुने खाली गर्नेदेखि कालीमाटी कुलेश्वर सडक बिस्तारसमेत उनले गरे ।

स्थापित आँटिला र सपना देख्ने नेता हुन् । संगसँगै अस्थीर र उटपट्याङ पनि उनी गरिरहन्छन् । २०५४ सालमा एमाले विभाजन हुँदा उनी वामदेव गौतम नेतृत्वको मालेतर्फ लागेका थिए । तत्कालीन उपमेयर विदुर मैनाली भने एमालेमै रहे ।

महानगरको कार्यकाल सकिएपछि उनी राजनीतिमा स्थापित हुन सकेनन् । उनी स्वतन्त्रजस्तै भए र भैरव नृत्यतिर लागे । त्यहाँबाट सुरु भएको उनको राजनीतिक बिचलन २०७४ को चुनावअघिसम्म जारी रह्यो ।

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा त उनी महानगरको मनोनित मेयरसम्म हुन भ्याए । तर, दरबारले उनलाई माओवादीलाई सहयोग गरेको आरोप लगायो र बर्खास्त गर्‍यो ।

लगत्तै, उनले सबैभन्दा पुरानो दल नेपाल प्रजा परिषद् पुनर्गठनसमेत गरे । त्यो पनि धेरै दिन टिकेन । २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा स्थापित पार्टीविहीन थिए । पहिलो दल बनेर माओवादीले जितेपछि उनी उसैसँग नजिकिए । त्यसको लाभ उनले डा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उठाए । सरकारले उनलाई काठमाडौं उपत्यका विकास प्राधिकरण प्रमुख नियुक्त गर्‍यो । त्यसैले भट्टराईको कार्यकालमा काठमाडौंमा भएको सडक बिस्तारमा स्थापितको योगदान छ । तर, त्यो पनि लामो टिकेन । भट्टराईपत्नीसमेत रहेकी नेतृ हिसिला यमीसँग कुरा नमिल्दा उनलाई बिचैमा हटाइयो । त्योसँगै उनको माओवादीमोह पनि भंग भयो ।

आफू जहाँ गए पनि एमाले नछाडेको भन्दै २०७० को संविधानसभा निर्वाचनअघि उनी एकाएक पार्टीमा सक्रिय भए । उनले काठमाडौं ६ बाट सभासद्का लागि दाबीसमेत गरे । तर, पार्टीले नेता योगेश भट्टराईलाई उम्मेदवार बनाएपछि तत्कालै उनले एमाले छाडे र संघीय समाजवादी फोरमबाट उम्मेदवार भए । त्यो चुनाव हारेको केही समयपछि स्थापित पुनः एमालेमा फर्किए ।

त्यसो त, उनी २०७४ सालमै महानगरको मेयर उठ्न चाहन्थे । अध्यक्ष ओलीलाई उनले कन्भिन्स गरिसकेका थिए । तर, सो निर्णय गर्न तत्कालीन जिल्ला अध्यक्ष कृष्ण राईलगायतले ओलीलाई रोके । त्यसपछि स्थापितको पाइला प्रदेशसभातर्फ मोडियो । उनी प्रदेशसभा सदस्य निर्वाचित भए र भौतिक पूर्वाधार मन्त्रीसमेत बने । मुख्यमन्त्री डोरमणी पौडेलसँग भनाभन र गालीगलौचले मन्त्री पनि पूरा समय चलाउन पाएनन्, बिचैमा बर्खास्तीमा परे । राजनीतिबाट पलायन भएर भैरव नृत्य र प्रजा परिषद् पुगिसकेका स्थापितलाई ओलीले २५ वर्षपछि काठमाडौंको मेयरमा ‘कमब्याक’को मौका दिएका छन् ।

अस्थिर चरित्र र उट्पट्याङ अभिव्यक्तिका कारण उनको राजनीतिक आरोह भने धिमा गतिमा छन् । उनीपछि आएका थुप्रै नेताहरू एमालेमा पदाधिकारी र स्थायी कमिटी पुग्दा उनी भने भर्खर केन्द्रीय सदस्य बनेका छन् । २५ वर्षपछि महानगरको मेयरमा ‘कमब्याक’ भई २०५४ कै स्तरमा काम गर्न सके अस्थिरताले धमिलिएको उनको छवि उजेलिने सम्भावना भने उत्तिकै छ।

Categorized in व्यक्तित्व