STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आम्दानीको स्रोत बन्दै कुखुरा व्यवसाय

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १०, शनिबार

जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज राम्रो आम्दानी गर्न थाल्नुभएको छ । उहाँले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गर्नुभएको हो । कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उहाँले एक छोरी बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धान्नुभएको छ । उहाँ एक हातको अपाङ्गता भएकी महिला पनि हुनुहुन्छ । वर्षांै पहिले दुर्घटनामा पर्दा उहाँको दाँहिने हात काटिएको छ । एक वर्ष पहिले अपाङ्ग सेवा सङ्घ सिलगढीले रु १० हजारका उन्नत जातका कुखुराका चल्ला र रु १० हजार बराबरको खोर निर्माणका लागि आर्थिक सहयोग गरेपछि आफूले उक्त व्यवसाय शुरु गरेको कुखुरा व्यवसायी उहाँले बताउनुभयो । हिजो आज कुखुरा किन्ने उहाँकै फार्ममा पुग्ने गरेका उहाँले जानकारी दिनुभयो । लोकल तथा उन्नत जातका कुखुरा भएका कारण ग्राहक खोज्नुपर्ने समस्या नभएको उहाँले बताउनुभयो । उहाँले लोकल कुखुरा जिउँदो प्रतिकिलो रु ६०० का दरले बिक्री गर्दै आउनुभएको छ । उक्त व्यवसायबाट मासिक रु १५ देखि रु २० हजारको हाराहारीमा आम्दानी हुने गरेको उहाँले बताउनुभयो । कुखुरा व्यवसायको आम्दानीबाट उहाँ अहिले निकै खुशी र सुखी जीवन जिउँदै हुनुहुन्छ । उहाँको फार्मले कुखुराका चल्लासमेत उत्पादन गर्दै आएको छ । अपाङ्ग सेवा सङ्घले युएमनको आर्थिक सहयोगमा जिल्लामा रहेका विभिन्न अपाङ्गता भएका व्यक्तिका घर परिवारलाई आयआर्जनका लागि भन्दै सिलाइ मेसिन, कुखुरापालन व्यवसाय, बाख्रापालन व्यवसाय तथा घुम्ती कोषका लागि आर्थिक सहयोग दिँदै आएको अपाङ्ग सेवा सङ्घकी कार्यक्रम संयोजक सीता राइमाझीले बताउनुभयो । जिल्लामा अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले यो वर्ष पनि आर्थिक सहयोग दिने तयारी भई प्रस्ताव माग गरिएको कार्यक्रम संयोजक राइमाझीले बताउनुभयो । अपाङ्ग सेवा सङ्घले जीविकोपार्जनका लागि अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग गर्न थालेपछि यहाँका अपाङ्गता भएका व्यक्ति तथा परिवार निकै खुशी भएका छन् ।
Categorized in बिजनेस