STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘द रेड सुटकेस’ क्यूएफएक्स चेनका हलमा रिलिज नहुने

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २५, आइतबार

काठमाडौं- शुक्रबारबाट रिलिज हुने फिल्म ‘द रेड सुटकेस’ का निर्माण टिमले नेपालको क्यूएफएक्स चेनमा फिल्म रिलिज नगर्ने घोषणा गरेको छ।

निर्माण कम्पनीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो फिल्म क्यूएफएक्स चेनका हलमा रिलिज नगर्ने घोषणा गरेको हो।

विज्ञप्तिमा ‘भेनिस फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर भई विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृतसमेत फिल्मलाई क्यूएफएक्सले बेवास्ता गर्दै नयाँ वर्षको अवसरमा रिलिज नगर्न र अर्को हप्ता सार्न भनेपछि आफूहरू दुःखी भएको उल्लेख छ। 

‘विदेशमा दर्शक तथा समीक्षकबाट चलचित्रले राम्रै तारिफ पाए पनि हाम्रो लागि घरेलु दर्शकको प्रतिक्रियाको बेग्लै अर्थ रहन्छ। यही कारण पनि विदेशी वितरकको क्यालेन्डरसँग सामञ्जस्यता मिलाउँदै हामीले चैत्र ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेका हौँ। तर प्रदर्शनको सङ्घारमा देशको सबैभन्दा ठूलो सिनेमा चेन क्यूएफएक्सले भने ‘द रेड सुटकेस’ लाई अन्य देशीविदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने आशयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्यूएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेका छौँ। यो निर्णयले दर्शकमा पर्न जाने असुविधाप्रति हामी हृदयदेखि नै क्षमा चाहन्छौँ । योबाहेकका सिनेमा घरमा भने चलचित्र निर्धारित मितिमा नै प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

देशलाई फिल्मको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने ‘द रेड सुटकेस’ जस्ता फिल्ममाथि नेपालमा व्यापारको नाममा हुने विभेद नयाँ नभएको पनि पनि विज्ञप्तिमा उल्लेख छ।

‘यसअघि पनि हाम्रो निर्माण रहेको ‘ऐना झ्यालको पुतली’ माथि पनि विदेशी फिल्म सेन्सर नभएको झोकमा निर्धारित समयमा बुकिङ खोलिएको थिएन। कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको सूची लामो छ। चाडपर्व र विदाका समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी सिनेमा घरले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य  निर्माण गरिरहेका छन् । हामी यस्ता असहिष्णु व्यवहारको भद्र अवज्ञा गर्न चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।

फिल्मलाई युएफओ च्यानलले युरोपको लागि यसै साता खरिद गरेको छ भने अन्य देशमा पनि यसको बिक्रीवितरण भइरहेको छ।फिडेल देवकोटाको लेखन र निर्देशन रहेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठ लगायतको अभिनय छ। 

Categorized in सिनेमा