STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ११, मंगलबार

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।

अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु सहभागी थिए ।

यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका थिए ।

अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार नै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आएका छन् ।

Categorized in राजनीति