विष्णुमतीमा शंखधरकाे सुन
Janjati Khabar – मल्ल के सुन्दर | २०७७ मङ्सिर १, सोमबार
मध्यकालीन नेपालको त्यो १४७ वर्षको यथार्थ अज्ञात रह्यो । प्रमाण प्रमेयका अभावमा त्यस अवधिमा के भए ? त्यतिखेरको सत्य–तथ्य के रहे ? केही जानकारी छैन । तसर्थ, इतिहासकारहरू त्यस कालखण्डलाई नेपाली इतिहासको अन्धकार युग मान्छन् ।
अत्यन्त प्रभावशाली, बलिया शासक थिए– लिच्छिवी राजाहरू । तर, जयदेव द्वितीयदेखि मानदेव चौथोसम्म आइपुग्दा द्वैध शासन, अन्तरकलह, आभिरहरूको षड्यन्त्रका कारण राज्यसत्ता अत्यन्त कमजोर देखिए । इस्वी ५७६ पछि नेपालको इतिहासबाट लिच्छिवीहरू लुप्तप्रायः हुनपुगे । तर, तत्पश्चात् सत्तामा केही फरक प्रसंग सुरु भए, जसले इतिहासलाई नयाँ मोड दिए । तीमध्येका महत्वपूर्ण घटनाक्रममा पहिलो थिए– बलशाली लिच्छवी वंशको पतन र शासन सत्तामा वैश्य ठकुरी वंशका नयाँ शासकको अप्रत्याशित उदय !
दोस्रो चाखलाग्दो तथ्य शक्तिशाली लिच्छिवी राजा मानदेवद्वारा प्रचलनमा ल्याइएको मानदेव संवत्को प्रयोगमा स्थगन, जुन संवत्ले नेपालको प्रशासनिक कार्यमा ३०४ वर्षसम्म निरन्तरता पाएको थियो । यसै कालखण्डमा विशालनगर, हाडीगाउँ प्रशासनिक केन्द्रको रूपमा रहँदै आएकोमा अचानक स्वकम्भू (हनुमानढोका दरबारक्षेत्रको प्राचीन नाम) कान्तिपुरतिर स्थानान्तरण भए । यद्यपि, यसका कारण र सत्य–तथ्यका सम्बन्धमा इतिहासकारबीच फरक–फरक मत छन् । तर, ठीक त्यसै समय, कालखण्डमा देखापरेका थिए कान्तिपुरका शंखधर साख्वाल । विद्वत्जनका अनुमानअनुसार, त्यस कालखण्डमा सत्ता उथल–पुथलको अस्थिरता रहेको हुनुपर्छ, त्यसैले लिच्छिवी शासकहरूको स्थानमा नयाँ कुल वंशका शासक राघवदेवको उदय सम्भव भयो । भनिन्छ, उनी नुवाकोटबाट उपत्यका पसेका वैश्य ठकुरी वंशका हुन् । प्राप्त वंशावली तथा समुदायमा प्रचलित आख्यान र विश्वासका आधारमा दाबी गरिन्छ– यिनै नयाँ राजा राघवदेवको शासनकालमा नेपाल संवत् प्रारम्भ भएको हो ।
कान्तिपुरका एक व्यापारी शंखधर साख्वाले राजा राघवदेवको अनुमति लिई संवत्सर गरेका थिए । केशर वंशावलीमा उल्लेख गरिएको ‘राजा राघवदेव । वर्ष ६३ मास ६ ।। श्रीपशुपतिभटारके संवत्सरपुवृति कृत्वा ।।’ भन्ने वाक्यांशले यसको प्रामाणिकता पुष्टि गरेको छ । त्यसो भनेको शक संवत् ८०२ कार्तिकादि शुक्ल प्रतिपदा अर्थात् इस्वी संवत् ८७९ अक्टोबर २० मंगलबारका दिन थियो । नेपालमा प्राप्त प्राचीन ग्रन्थ ‘सुमन्तितन्त्र’मा यससम्बन्धी स्पष्ट दिनको गणना गरेर पूर्वीय ज्योतिषीशास्त्रका आधारमा पनि यथार्थको पुष्टि गरेको पाइन्छ ।
राघवदेव राजाका रूपमा उदय हुनु, विशालनगरको पतन हुनु तथा नेपाल संवत् सुरु हुनुमा के–कति अन्तरसम्बन्ध थियो÷थिएन, त्यो अध्येताकै जिम्माको विषय रह्यो । तर, त्यति नै बेला आरम्भ भएको नेपाल संवत् भने नेपालको गौरवमय सांस्कृतिक सम्पदाको रूपमा स्थापित भयो । आजपर्यन्त यसको निरन्तरता छ ।
त्यसो त, गोरखा राज्य विस्तारपछि शाह राजाहरूले आफ्नो भारतमोह जाहेर गर्न उतैतिर प्रचलनमा रहेको शक संवत्लाई नेपालको प्रशासकीय कामकाजमा स्थान दिए । चन्द्रशमसेर प्रधानमन्त्री बनेपछि विक्रम संवत्को प्रचलनलाई राज्यस्तरको मान्यता दिएर नेपाल संवत्लाई विस्थापित गरे ।
यो वि.सं. १९६० यताको कुरा थियो । तर, यति हुँदाहुँदै पनि समुदायबीच नेपाल संवत्को प्रयोग अविच्छिन्न रह्यो । नेपाल संवत्अन्तर्गत अपनाइएका चन्द्रमासका दिनगन्ती विशेषतः रैथाने समुदायमा प्रचलित संस्कृति, संस्कार, रीति, परम्परा, चाड, पर्व, जात्रा आदिका लागि मुख्य आधार बन्दै आए । राज्यद्वारा विक्रम संवत् लादिए पनि जनसाधारणका सांस्कृतिक विधि–व्यवहार सम्पन्न गर्न नेपाल संवत्को प्रयोगमाथि कुनै असर पार्न सकेन । नेपाल संवत्को प्रारम्भदेखि आजपर्यन्त अर्थात् ११४० वर्ष निरन्तर यो सामाजिक प्रयोजनमा जीवन्त रह्यो ।
यस संवत् प्रयोग गरिएको अहिलेसम्मको पुरानो प्राप्य ऐतिहासिक ग्रन्थ
भनेको राष्ट्रिय अभिलेखालयमा सुरक्षित ‘लङ्कावतार’हो । यसमा ‘संवत् २८ कार्तिककृष्ण दिवाअष्टभ्याम्’ भनेर उल्लेख छ । नेपाल संवत्कै रूपमा उल्लेख गरिएको अर्को पुरानो ग्रन्थ कोलकाताका विद्वान् एस.के. सरस्वतीको संकलनमा रहेको ‘अष्टसाहस्रिका प्रज्ञापारमिता’हो । नेपाल संवत् १४८ मा लेखिएको यस ग्रन्थमा स्पष्टसँग ‘नेपालवत्सर’ वाक्य लेखिएको छ ।
तत्कालीन नेपालमण्डलको सीमाभित्रबाट यस संवत्को प्रादुर्भाव भएको भए पनि यो नेपाल सरहदको पश्चिमी भूभागसम्म प्रचलनमा थियो । इतिहासकार धनबज्र बज्राचार्यका अनुसार नेपाल संवत् ११९ मा लेखिएको ‘अष्टसाहस्रिक प्रज्ञापारमिता’ ग्रन्थमा स्पष्ट ‘गण्डीगुल्मकनिवासिनः सुवर्णकार श्रीराकस्यः।।।’ भनेर उल्लेख गरिएको छ ।
धनबज्रकै अनुसार, मध्यकालीन शासनकालमा जिल्लालाई गुल्म भनिन्थ्यो ।
त्यस्तै, पूर्व उदयपुरमा भेटिएको धातुको गरुडध्वज विष्णुको मूर्तिको कवचको पादपीठमा पनि नेपाल संवत् अंकित गरिएको लिखत भेटिएको छ, त्यो नेपाल संवत्् १२४ को भएको धनबज्रको दाबी छ । उहाँका अनुसार, नेपाल संवत््सँगै धवलपुर, गुल्मी स्थान उल्लेखित लिखत अरू पनि प्रशस्त भेटिएका छन् ।
रमाइलो पक्ष चीनका मिंग वंशीय बादशाह तामिमिउले बनेपाको महासामन्त शक्तिसिंह भारोको नाममा लेखेको पत्रमा नेपाल संवत् ५३५ उल्लेख गरिएको छ । त्यस्तै, भारत कुच विहारका शासक प्राणनारायणले जारी गरेको स्वर्ण मुद्रामा पनि नेपाल संवत् ७५३ अंकित गरेको भेटिएको छ । यसले नेपाल संवत्ले सीमापारिसम्म पाएको लोकप्रियतालाई इंगित गर्छ ।
चन्द्रमाको गतिका आधारमा गरिने दिन गन्ती अर्थात् चन्द्रमास मानवीय सभ्यताको प्रारम्भिककालदेखि लोकप्रिय रह्यो । इसापूर्व ४२३६ तिर मिस्रवासीहरूले कालमान गणनाको प्रचलन आरम्भ गरेको मानिन्छ । उनीहरूले पनि मूलतः क्षितिजमा उदय हुने चन्द्रमा तथा अन्य ग्रह, नक्षत्रको स्थान, उदय तथा विलयकालका आधारमा दिनमानका आधार तयार गरेका थिए । चीनमा अद्यापि प्रचलित यिन–याङ संवत्, मुसलमानका मोहम्मदियन संवत्, यहुदीहरूका यहुदी संवत्, शक् संवत्, हर्ष संवत्, गुप्त संवत् आदि चन्दमानअनुसार रहेका छन् । विक्रम संवत् पनि सुरुमा चन्द्रमानअनुसार थियो, पछि यसलाई सौर्यमासमा ल्याइयो ।
रोमनहरूले पनि आकाशमा देखिने चन्द्रकलालाई नै दिनगन्तीका प्रमुख आधार बनाएका हुन् । यद्यपि, उनीहरूका कालमानमा वर्षभरि ३०४ दिन र दश महिना मात्रै हुन्थ्यो । आकाशमा चन्द्रमा नदेखिने हिउँदका दुई महिनाको गन्ती गरिन्थ्यो । पछि युनानका राजा जुलियस सिजरद्वारा सुरु गरिएको जुलियन संवत् पनि चन्द्रमासमै आधारित थियो । १६ औँ शताब्दीको अन्त्यसम्म इस्वी संवत् पनि चन्द्रमाको गतिमा आधारित थियो । सन् १५८० मा मात्र पोप गे्रगोरी १३ औँ बाट इस्वी संवत््को कालगणनालाई सौर्यमानमा व्यवस्था गरिएको थियो । पछि उनकै सम्झनामा हाल प्रचलित इस्वी संवत्को पात्रोलाई गे्रगिरियन पात्रोका रूपमा स्थापित गरियो ।
नेपाललाई ‘असली हिन्दुस्थाना बनाउने’ मोह बोकेका तत्कालीन शासकहरू आफ्नो कुल वंशलाई भारतको राजस्थानसम्म जोड्नमा गर्व गर्थे । चित्तौरका राजपुत र राणाहरू आफन्त हुन् भन्थे । अनि त्यसरी नै भारतको हरिद्वार, काशी, वनारसमा शरणागत हुन पाएमा जीवन सफल हुने विश्वास गर्ने संस्कारग्रस्त थिए उनीहरू । ती शासकमा रहेको यस प्रकारको मनोग्रन्थीले थाहा हुन्थ्यो– नेपाल संवत्जस्तो आफ्नो मौलिक संस्कृति र सम्पदाप्रति उनीहरूको दृष्टिकोण सकारात्मक थिएन । त्यसैले, नेपाल संवत्लाई राष्ट्रिय संवत् मान्ने अभियन्ताहरूलाई त्यसबेलाको निर्दलीय शासन सत्ताले थुन्थ्यो, छेक्थ्यो र साम्प्रदायिक भएको आरोप लगाउँथ्यो ।
तर, पहिलो जनआन्दोलनपश्चात् परिवर्तित राजनीतिक परिस्थितिमा राज्यले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूतिका रूपमा सम्मानित ग¥यो । शंखधरको सम्मानमा उनको चित्रांकित हुलाक टिकट प्रचलनमा ल्याइयो । २०६५ सम्म आइपुग्दा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिइएको सरकारी घोषणासमेत गरियो ।
सरकार प्रमुख, सत्तारुढ नेता नेपाल संवत्का गतिविधिमा निःसंकोच संलग्न भए । अहिले त नेपाल संवत्कोनयाँ वर्ष दिनमा पर्व, उत्सव, समारोह मनाउने परम्परा नै बसेको छ । बर्सेनि संवत्सर हुने अवसर पारेर विशाल सांस्कृतिक र्याली, जुलुस, सभा, गोष्ठी अनि शुभकामना आदान–प्रदान यत्रतत्र हुने गरेका छन् । यो क्रम राष्ट्रिय सीमा पार गरेर युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, खाडी मुलुकसम्मै व्यापक भएको छ । यसले साँच्चै एउटा राष्ट्रिय पर्वकै रूप लिइसक्यो ।
त्यसो त नेपाली भूमिमा प्रचलनमा आएका संवत् अरू पनि छन् । विक्रम संवत् र इस्वी संवत्का अतिरिक्त ऐतिहासिक कालक्रममा शक् संवत्, मानदेव संवत्, लिच्छिवी संवत्, बुद्ध संवत्, हजर्त संवत्, यले संवत्, लक्षमण संवत् आदि प्रचलनमा आए । तर, ती संवत्को प्रचलन धर्म–सम्प्रदाय, शासक विशेषसँग निरपेक्ष छैनन् । नेपाल संवत्मा भने त्यस्तो कुनै आग्रह छैन । यसले सिंगो नेपाल राष्ट्रको पहिचानलाई स्थापित गर्न खोजेको छ । त्यस अर्थमा यो व्यापक र विषद् छ, अन्य संवत्भन्दा भिन्न र मौलिक छ । यो नै नेपाल संवत्को विशेषता रह्यो ।
शंखधर साख्वा काठमाडौं, इलाछेँ टोलमा बसोवास गर्ने एक सामान्य व्यापारी थिए । भनिन्छ, उनी नेपाल संवत् प्रचलनमा आएको दश वर्षसम्म जीवित थिए । भीमसेनस्थान इलाछेँ, आफ्नो घरको कौसिमाथिबाट देखिने गरी विष्णुमती खोलाको किनारमा उनले ठूलो चैत्य बनाउन लगाए, जुन यद्यपि खडा छ । पशुपति मन्दिरको दक्षिणतिर उनको शिलामूर्ति छ । उनले आफ्नो व्यापार–व्यवसायबाट राम्ररी नै सम्पत्ति आर्जन गरे । अनि आफ्नो निजी सम्पत्ति लोककल्याणका लागि समर्पित गरे । त्यसबखत ऋणमा डुबेका जनसमुदायलाई ऋण मोचन गर्ने काममा लागे ।
शंखधर र नेपाल संवत्सँग जोडिएका कथन हुन् यी । सुन्दा, पढ्दा सामान्य लाग्न सक्छ, यी कथन । तर, धन–सम्पत्तिका लागि ब्यक्तिगत मोह, तृष्णा र स्वार्थमा लिप्त हुने मानिसमाझ शंखधरले रोजेको त्यागको मार्ग कम स्तुत्य थिएन । लोक कल्याणका लागि उनले गरेका उद्धारका कर्म वास्तवमा त्यसबेलाको नेपालमण्डलभित्र जरो गाढेको बोधिचित्त भाव र दान पारमिताका व्यावहारिक स्वरूप थिए । एक अर्थमा नेपाली समाजमा विद्यमान एक प्रवृत्ति थियो, त्यो । जबकि यता पाश्चात्य जगत्मा रेडक्रस, जेसिज, रोटरीको आवरणमा लोक कल्याणकारी भावको सुरुवात भएको इतिहास दुई शताब्दीभन्दा पुरानो भएको छैन । त्यस अर्थमा शंखधर साख्वाः लोक कल्याणकारी अभियन्ताका अग्रज नै थिए भन्न सकिन्छ । र, नेपालीजन यसमा गौरव गर्न सक्छन् ।
फेरि पनि नेपाल संवत्का उल्लेखित विशेषताप्रति उपेक्षा गर्दै यस सम्बन्धमा तिखा आलोचना गर्नेहरू कम छैनन्– ‘...संवत् व्यावहारिक छैन, दैनिक जीवनमा प्रयोग गर्न सकिन्न । यो संवत् नेवार समुदायको मात्र संवत् हो, तसर्थ यो नेवारी संवत् हो । यसको राष्ट्रिय मान्यताको औचित्य छैन । शंखधर मिथक मात्र हुन्, ऐतिहासिक पात्र होइन...’ आदि, आदि । तर, नेपाल संवत् एक आन्दोलनका रूपमा अगाडि आएदेखिको चार दशकभित्र यी सबै पक्ष केवल भ्रम र आग्रह मात्र हुन् भन्ने कुरा पुष्टि भइसके ।
विशेषतः शंखधर साख्वाले अकस्मात् धन आर्जन गरेको सम्बन्धमा समाजमा प्रचलित जुन आख्यान छन्, त्यस आधारमा विमति प्रकट गर्ने भने अझै कम भएका छैनन् । आख्यानमा जसरी खोलाको बालुवा रातारात सुनमा परिणत भएको प्रसंग छ, त्यसमा प्रतिप्रश्न गर्छन् मानिसहरू । र, त्यसैमा टेकेर समग्र रूपमा नेपाल संवत् प्रवद्र्धनका कुरालाई नै नकार्ने आधार बनाउन खोज्छन् ।
अवश्य पनि मिथ र आख्यानले इतिहास बन्दैन । वास्तवमा आख्यानमा वर्णन गरिएअनुसार, खोलाको बालुवा रातारात सुनमा परिणत पनि हुँदैन । यसमा कुनै वैज्ञानिकता छैन । यसमा दुई मत छैन । यति हुँदाहुँदै पनि सत्य के हो भने खोलाको बालुवामा सुन भेटिन्छ । नेपालकै काली गण्डकीलगायत कतिपय नदीको बालुवामा सुनका कण भेटिन्छन् ।
मानिसहरू अहिले पनि नदीमा सुनका कण केलाउने काम गरेर जीविकोपार्जन गर्छन् । तिब्बतको ल्हासा नदीमा पनि त्यहाँका रैथाने समुदायले सुक्खा समयमा बालुवा केलाएर सुनका कण निकाल्छन् । संयुक्त राज्य अमेरिकाको डेनभरतिर रेड इन्डियनहरू त त्यस कामका लागि पोख्त मानिन्छ । ल्याटिन अमेरिकाका आदिवासीहरू आफ्ना ऐतिहासिक थातथलोका नदीहरूमा आजसम्म सुन केलाउन व्यस्त हुन्छन् । खोलाको बालुवामा सुनका कण भेटिनुलाई विज्ञानले नकार्दैन ।
Categorized in विचार