STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्व बालश्रमविरुद्धको दिवस र नेपालमा बालश्रमिकका अवस्था

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३२, आइतबार

डा. विजय सैंजू -


जून १२, विश्व बालश्रम विरुद्धको दिवस संसारभरि कोरोना भाइरसको महामारीबीच पनि मनाइएको छ । नेपालमा पनि यस दिवसमा विभिन्न कार्यक्रम गर्ने योजना रहे पनि कोरोना महामारीको कारण मनाउन सकिएन । विश्वभरिका बाल श्रमिकहरुलाई हुने शोषण र उत्पीडनविरुद्ध जून १२ लाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले करिब एक दशकअघि नै बालश्रमविरुद्धको दिवस भनी मनाउन सुरु गरेको हो । नेपाल सरकारले पनि आईएसओका विभिन्न महासन्धिमा हस्ताक्षर गरेको छ । विशेष गरी महासन्धि १८२ लाई अति निकृष्ट बालश्रमलाई लिएर जारी भएको सन्धिमा नेपालले हस्ताक्षर गरेको छ । आईएलओको तथ्यांकअनुरुप विश्वभरि ७ देखि १७ वर्षका बालश्रमिकहरुको संख्या १५ करोड २० लाख छ । यीमध्ये ७३ लाख बालबालिका अति जोखिमपूर्ण काम गर्ने तथ्यांक छ । नेपालको तथ्यांक हेर्दा करिब १६ लाख बालश्रमिक रहेका छन् । कन्सर्न नेपालको आँकडाअनुसार बालश्रमिकहरु विभिन्न ८६ वटा काम गर्ने गरेका छन् । यीमध्ये धेरैजसो कृषि पेशामा संलग्न छन् । दुई दशकअघिको तथ्यांक हेर्ने हो भने आईएलओको सन् २००१ को प्रतिवेदनअनुसार नेपालमा २६ लाख बालबालिका श्रम गर्छन् । तर अहिलेको तथ्यांक हेर्ने हो भने १० लाखले घटेर १६ लाखको सरकारी आँकडा छ । बालश्रमको सचेतना बढेसँगै बालबालिकालाई काममा नलगाउने प्रवृत्ति बढ्नु राम्रो मान्नुपर्छ । तर बालबालिकाप्रति हुने शोषण भने घटेको देखिँदैन । पहिले प्रत्यक्ष रुपमा विभिन्न विधाका काममा देखिने बालबालिका र उनीहरुको शोषण प्रवृत्ति पनि सज्र्यान्त नै छ । अहिले बालश्रमिकको संख्या कम भए पनि उनीहरुप्रति हुने शोषण कम देखिँदैन । ईँटा बनाउने, गिटी फुटाउने, चिया पसलमा भाडा माझ्ने, बालभरिया, घरेलु श्रमि आदि काममा बालबालिकाको नराम्रो शोषण अहिले पनि भइरहेको छ । नेपालको अवस्था हेर्ने हो भने आर्थिक र शारीरिक शोषण मात्र नभई बालबालिकाको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको प्रवृत्ति पनि बढ्दो छ । नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय महासन्धिको आधारमा बालबालिका ऐन २०४८ र यसको परिमार्जित २०७५ ऐन ल्याइसकेको छ । साथै बालश्रम नियमन र निषेधित गर्न बालश्रम ऐन २०५६ पनि पारित गरिसकेको छ । तर यिनको पालना भइरहेको देखिँदैन । अहिलेको दुई तिहाइको सरकारले बाल श्रमिकहरुको अवस्था सुर्धान कार्य नगर्नु भनेको नेपालका बालबालिकाहरुको भविष्यप्रतिको खेलवाड हो । कन्सर्न नेपालले बालश्रमविरुद्धको दिवसलाई सम्झेर नेपाल सरकारलाई पारित ऐन, कानुनको पूर्ण पालना गरी आफ्नो दायित्व पूरा गर्न अनुरोध गर्दछ । वर्षेनी कन्सर्न नेपालले विश्व बालश्रमविरुद्धको दिवस मनाउँदै आएको छ । तर यस वर्षको स्थिति फरक । विश्व नै कोरोना भाइरसबाट ग्रसित बनिरहेको अवस्थामा नेपालमा पनि यसको त्रास रहेको सर्वविदितै छ । नेपालीहरु लकडाउनको अवस्थामा घरमा बस्नुपरेको अवस्था छ । कोरोना भाइरसले विश्वलाई ग्रस्त बनाएको समय बाल श्रमिकमा पनि प्रभाव पर्नजानु स्वाभाविक हो । त्यसैले बालश्रमिक र उसका परिवारको अवस्थालाई विचार गरी विशेष ध्यान दिन पनि अनुरोध छ । साथै साहु महाजनहरुले पनि बालश्रमिकको प्रयोग नगरिदिन हार्दिक अनुरोध गर्दछु ।

(लेखक बालबालिकाको हकहित र अधिकारको लागि कार्यरत कन्सर्न नेपालका अध्यक्ष हुनुहुन्छ)

Categorized in विचार