STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लकडाउन : उब्रिएका र फालिने खाना सडकका कुकुरलाई खुवाऔं

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २५, मंगलबार

ललेन्द्र शाक्य


संसारै कोरोना कोभिड १९ भाइरसको संक्रमणको मारमा फसिरहेको अवस्थामा विभिन्न देश लकडाउनको स्थितिबाट गुज्रिरहेका छन् । हाम्रो देश नेपाल पनि लकडाउनकै स्थितिमा छ र नेपाल सरकारले २०७७ बैशाख ३ गतेसम्म लकडाउनलाई लम्ब्याएको छ । ३ गतेपछि पनि लकडाउन लम्बिँदैन भन्न सकिन्न । कति समयसम्म हुने हो लकडाउन, अनिश्चित छ । हाम्रो समाजका विभिन्न जनसमुदायले लकडाउन अघि झैं आ–आफ्नो भान्साबाट खाना खाइसकेपछि उब्रिएका खाना डस्टबिनमा फालिरहेका छन् । यसविपरीत कीर्तिपुरका केही सचेत युवाहरुले यस सन्दर्भमा सोचनीय कदम चालेका छन् । ती युवाहरुले ‘भान्साबाट उब्रिएका वा फालिने खाना एवं खाद्य सामग्रीहरु डस्टबिनमा नफालौं, आफ्नो टोल, सडकमा रहेका कुकुरहरुलाई खुवाऔं’ भन्ने भावना जागृत गर्न पाईला अघि सारेका छन् । हुन पनि हो, अहिलेको यो लकडाउनको परिस्थितिमा टोल सडकका भुस्याहा कुकुरहरु भोकले रन्थनिरहेको हामी देख्छौं । भोकले तिनीहरु रोगीजस्ता देखिन थालेका छन् । आखिर कुकुर पनि सजीव प्राणी हो र टोल सडकको रक्षार्थ खटिने सुरक्षागार्डको रुपमा तिनीहरु रहेका हरेक टोलबासीले अनुभव गरेकै होला । हाल यो लकडाउनले स्थानीय जनसमुदायहरु मात्र हैन कि टोल सडकका कुकुरहरु पनि भोकमरीमा पिल्सिन बाध्य भइरहेका छन् । यस विचारमा सहमतका साथ पाईला चालिरहेका कीर्तिपुरका राजकृष्ण महर्जनले सडक, गल्ली, टोलका कुकुरहरु भोकै रहनु भनेको समाजमा अर्को रोग निम्त्याउनु सरह भएको कुरा राख्नुहुन्छ । भोकले कुकुरहरु विरामी हुनसक्छ, मर्न पनि सक्छ । यसबाट टोल समाजमा मरेका कुकुरबाट रोग फैलिन सक्छ भन्नुहुँदै सबैलाई सचेत रहन र समाजका व्यक्तिहरुले भान्साबाट उब्रिएका र फालिने खाना एवं खाद्य वस्तु डस्टबिनमा नफाली कुकुरहरुलाई खुवाउन अनुरोध गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “टोल, सडक, गल्लीका कुकुरहरु पनि प्राणी नै हुन्, हामीलाई जस्तै तिनीहरुलाई पनि भोक लाग्छ । अहिलेको लकडाउनको समयमा ती कुकुरहरु पनि पीडित छन् खानाको लागि । त्यसैले समाजका सम्पूर्ण व्यक्तित्वहरुलाई आफूले खाइसकेपछि भान्साबाट उब्रिने र फालिने खाना, खाद्यवस्तुहरु डस्टबिनमा नफाली आफ्नो घरबाहिरका कुकुरहरुलाई खुवाउन अनुरोध गर्दछु । आफूले प्रयोग नगर्ने कुनै प्लेट वा भाँडामा ती खाना राखी घरबाहिर राखिदियो भने अवश्य पनि कुकुरहरु आएर खान्छन् र तिनीहरुको लागि ठूलो राहत हुन्छन् भन्ने ठान्दछु ।” अवश्य पनि यो कुरो सही हो कि, हामीले भान्साबाट उब्रिएका र फालिने खाना एवं खाद्यवस्तुहरु डस्टबिनमा फाल्नुको सट्टा आफ्नो टोल, गल्ली, सडकका कुकुर एवं पशुपंछिहरुलाई खुवाउन सके यो लकडाउनको समयमा ठूलो पुण्यको कार्य हुनेछ, यसमा दुईमत देखिँदैन । सडक, गल्ली, टोलका कुकुर भनौं या त्यो इलाकाका खुल्ला आकाशमा उड्ने पशुपंछि भनौं, तिनीहरु पनि समाजका एक हिस्सा हुन् र तिनीहरुले पनि खान पाउने नैसर्गिक अधिकार छ । यो कुरा हामी समाजमा बस्ने समुदायदेखि समाज सुधारक सम्बन्धित निकायले ध्यान दिनुपर्ने विषय पनि हो ।
Categorized in विचार