STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

राजनीतिक यात्राका ‘कुमार’नै ठहिरए, स्व. राजकुमार नकर्मीः चीरशान्तिको कामना

Janjati Khabar | २०८१ श्रावण १७, बिहिबार

 विरेन्द्र शाक्य ‘विविशा’
मृत्यू कठोर सत्य हो, यो धर्तीमा जन्म लिएपछि सबै प्राणीले एकदिन मर्नै पर्दछ, जीवनसंगै अन्त्य पनि निश्चितनै छ । तर सृष्टिको यो सरल सत्य बुझेरै पनि मृत्यू आफैमा परिवार, आफन्तजन र शुभेच्छुकहरुका लागिमात्र होइन, आमरुपमा बेदना र पीडानै हो । र, भोग्नुपर्ने समय अवस्थामा असह्यनै बनिदिन्छ । कालगतिले हुने स्वभाविक मृत्यू त पीडादायी बनिदिन्छ भने असामयिकरुपमा हुने मृत्यूलाई स्विकार्न निकै कठीन परिस्थिति बनिदिन्छ ।
२०८१ साउन १० गतेको त्यो दिन र क्षण निर्वाचित नगरपितालाई गुमाउनपरेको अवस्था आम कीर्तिपुरवासीका लागि त्यस्तै अप्रिय र दुःखदायी क्षण र दिन बनिदियो । साउन ११ गते स्व. राजकुमार नकर्मीको पार्थिव शरीरलाई वर्षाहिती परिसरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरि हजारौं शुभेच्छुकहरुले भावविह्वल अवस्थामा शवयात्रा गरि दीखु घाट क्षेत्रमा अन्त्येष्टि गरि भौतिक शरीर खरानीमा परिणत भई नदीमा विसर्जन भैसक्दा पनि नगर प्रमुख स्व. राजकुमार नकर्मी आज भौतिकरुपमा हामीबीच नरहेको सत्यलाई यो मनले अझै सहजरुपमा स्विकार्न सकिइरहेको छैन । तर जतिनै बोझिलो किन नहोस् सत्य आखिर सत्यनै हुन्छ र गह्रंगो मन, मस्तिष्कले स्विकार्नुको विकल्प पनि छैन । अब हामीमाझ राजकुमार नकर्मीको स्मरणमात्र बांकी छ, भौतिकरुपमा अन्त्य भैसक्यो ।
कीर्तिपुर, मुगल्छे‘ टोलमा बाबु राजमान नकर्मी र आमा श्रीमती लक्ष्मी नकर्मीको कोखबाट सामान्य परिवारमा जेठो छोराको रुपमा जन्मेका राजकुमार नकर्मीले कक्षा ८ सम्म लेबोरेटरी माविमा अध्ययनपछि कीर्तिपु माविबाट विद्यालयस्तरको शिक्षा (एसएलसी) सकाएपछि कलेज जीवनको सुरुवातसंगै राजनीतिमा पाईला चालेका राजकुमार नकर्मीलाई मैले ०४६ सालको जनआन्दोलनको क्रममा चिन्ने अवसर पाए‘ । त्यसो त ०४२ सालमा नेपाली कांग्रेसले तत्कालिन पंचायती ब्यवस्थाविरुद्ध सुरु गरेको सत्याग्रहमै नकर्मीको भूमिका र सक्रियता सतहमा देखिइसकेको थियो । ०४६ सालसम्म आईपुग्दा नेतृत्व तहमै चिनाउन सफल बने । खुल्ला राजनीतिमा नकर्मीको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक सक्रियताले थप उचाई लिंदै गयो । शिक्षण पेसासंगै वामपन्थीहरुको वर्चश्व रहेको कीर्तिपुर र काठमाडौंको दक्षिण–पश्चिम भेगमा राजकुमार नकर्मीको उपस्थितिले नेपाली कांग्रेसको संगठन मौलाउ‘दै मजबुट बन्दै गएसंगै उनले आफ्नो राजनीतिक घेरा पनि विस्तार गर्न सफल भए । उनकै सक्रियताले पंचायतपछि बहुदलीय ब्यवस्थामा ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालिन लाय्कु गाविसमा वामपन्थी उम्मेदवारलाई हराउ‘दै नेपाली कांग्रेसका अग्रज हरिशरण महर्जनलाई अध्यक्षमा जिताउन टेवा पु¥यायो । औंलामा गन्नसक्ने अवस्थामा रहेको प्रजातान्त्रिक धारको राजनीतिमा नकर्मीको सक्रियताले मलजल गर्दै गयो । ०५३ सालमा कीर्तिपुरको राजनीतिक वृत्तमा नगरपालिका घोषणा गराउने एजेण्डाले प्राथमिकता पाएसंगै चैत १४ गते कीर्तिपुर नगरपालिका घोषणा भयो र ०५४ साल जेठमा स्थानीय निकायको निर्वाचन घोषणा भयो । त्यसमा प्रमुखको पदमा नकर्मी पनि दावेदार देखिए । तर कीर्तिपुरमा कांग्रेसको मियो बनेका स्व. हरिशरण महर्जनले टिकट पाए तर थोरै मतले पराजित भए । चुनावको नतिजा वामपक्षमै गएपनि हरिशरण महर्जन, बद्रीलाल महर्जनलगायत राजकुमार नकर्मीको राजनीतिक र सामाजिक सक्रियतामा पटक्कै कमि आएन । ०५६ सालमा संसदीय निर्वाचननै जित्न सफल भए, तीर्थराम डंगोललाई जिताए ।
२०५९ साल असारमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिएसंगै त्यसपछिका डेढ दशक स्थानीय तह जनप्रतिनिधिविहिन बने । तैपनि राजनीतिक सक्रियता दलहरुको संयन्त्रमार्फत् उपस्थिति रह्यो । ०६२–०६३ सालको दोस्रो जनआन्दोलनमा कीर्तिपुर मोर्चाको नेतृत्व गरेका राजकुमार नकर्मी तत्कालिन शासकका तारोनै बने, सख्त घाईते भए, संगै कीर्तिपुरवासीका प्रिय पनि बने । कांग्रेसभित्र देशको राजधानी काठमाडौं जिल्लाको संगठन हॉक्ने हैसियत सचिव हु‘दै उपसभापतिसम्म बनेका नकर्मी ०७४ सालमा घोषित स्थानीय तहको निर्वाचनमा राजकुमार नकर्मी नगर प्रमुखको उम्मेदवार बन्न सफल भए तर पार्टीको आन्तरिक किचलोले थोरै मतले पराजित हुन पुगे । पॉच वर्ष धैर्य गरि ०७९ साल बैशाख ३० मा नकर्मीकै नेतृत्वमा स्थानीय चुनावमा होमिएको नेपाली कांग्रेसले ऐतिहासिकरुपमै नतिजा हासिल गर्न सफल भए । ४ नं. वडामा स्वतन्त्र उम्मेदवारबाहेक प्रमुख, जसपासंगको गठबन्धनमा उप–प्रमुखसहित ९ वटा वडामा जित हासिल गरे ।
संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारीको अवसर पाएका नकर्मी राजनीतिमा होमिएदेखिनै समृद्ध कीर्तिपुरको सपना देखेका, पालेका थिए । एकपटक मेयर भएर कीर्तिपुरको विकासका लागि काम गर्ने उनको दृढ लक्ष्य थियो । कीर्तिपुरको विकास, निर्माणका सवालहरुमा राजनीतिक वृत्तमा दृढताका साथ आफ्नो तर्क राख्ने नकर्मीको क्षमता र स्वभाव खास खास अवस्थामा विपक्षी दलहरुको वृत्तमा फलामे च्यूरा सावित हुने गर्दथ्यो, यद्यपि समन्वयकारी भूमिकामा अब्बल मानिने हरिशरण महर्जनपछि आफ्ना एजेण्डाहरु विपक्षी दलहरुका सामु निर्भिकतापूर्वक प्रस्तुत गर्ने र कार्यान्वयन गराउनमा सफल नेतृत्व नकर्मीनै हुन् ।
निर्वाचनको नतिजापछि ०७९ जेठ ६ गते पदबहाली गरेका राजकुमार नकर्मीले कीर्तिपुर नगरवासीले आफूलाई विश्वास गरि जिम्मेवारी दिएकाले समृद्ध कीर्तिपुर निर्माणमा आफू सक्रिय भएर लाग्ने प्रतिक्रिया संचार माध्यमहरुमा दिएका थिए । उच्च मनोबलका धनी राजकुमार नकर्मी आफ्नो स्वास्थ्यमा देखिएका केहि समस्याका बावजूद पनि विकास निर्माणको काममा सधैं सरिक बनिरहे । राजनीतिमा जस्तै रोगलाई सजिलै जित्ने अपेक्षा, विश्वास र सद्भाव सबैको थियो । कार्यभारका बीचमा उपचारका सिलसिलाहरु पनि चलिइनै रह्यो । नगर प्रमुखको स्वास्थ्य चिन्ता सबैलाई थियो । कामविशेषले कार्यकक्ष वा बाहिर भेट हु‘दा पनि उनको स्वास्थ्य अवस्था सबैको चासोको विषय हुन्थ्यो र आफू निरन्तर प्रयासरत रहेको र आवश्यक स्वास्थ्योपचार गरि निको भएर कीर्तिपुरको विकास निर्माणमा थप सक्रिय भएर लाग्ने दृढ विश्वास पनि उनको थियो  । एउटा भेटवार्तामा उनले भनेका थिए, ‘म अझै १५ वर्ष बॉच्छु, समृद्ध कीर्तिपुर निर्माणका लागि मैले देखेका सपनाहरु पूरा गर्छु ।’ तर विधिको विडम्बना उमेरसंगै सुगर र उच्च रक्तचापको समस्यासमेत झेल्दै नगरवासीको सेवामा निरन्तर २६ महिना तत्पर भई लागेका नकर्मीको स्वास्थ्य प्रतिकूल बन्दै अन्ततः ०८१ साउन १० गते बिहिवार उपचारकै क्रममा वीर अस्पतालको सघन कक्षको शैयामा संघर्ष गर्दागर्दै मृत्यूसंग पराजित हुन पुगे ।
स्वास्थ्य र शरीरको प्रतिकूल अवस्थाले नगरवासीले उनीसंग गरेका अपेक्षा र स्वयं नकर्मीका चाहना र दृढ इच्छासमेत अधुरो र अपुरोनै रहेको सत्य, तथ्यकै रुपमा रह्यो तर निर्वाचित कार्यकालको छोटो अवधिमै नगर प्रमुखको रुपमा स्व. राजकुमार नकर्मीले गरेका निर्णय र कार्य सम्पादन भने आम कीर्तिपुरवासीको हितका पक्षमा कोषेढुंगा सावित रह्यो र रहने पनि छ । शिक्षण पेसाबाटै उदाएका नकर्मीले एक घर, एक स्नातकजस्तो महत्वाकांक्षी कार्यक्रमलाई दीर्घकालिन बनाउन सके, नगरवासीको स्वास्थ्योपचारमा ५० प्रतिशत छुटको सुविधा, मेयर स्वास्थ्य प्रबद्र्धन कार्यक्रमअन्तर्गत विज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण कार्यक्रम, खेलाडीहरुको वृत्ति विकासका लागि संचालित मेयर खेलकूद तालिम तथा कार्यक्रमलाई निरन्तरता, त्रिविसंगको समन्वयमा नगर अस्पताल निर्माण योजना, सम्पदा संरक्षण तथा सांस्कृतिक प्रबद्र्धन योजनालगायत थुप्रै योजनाहरु हामीबीच अपुरो र अधुरोरुपमा होइन, जिम्मेवार बनाई जिम्मेवारीकारुपमा छोडेर गएको छ, जसलाई पूर्णता दिनु सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुलगायत सबैको परम कर्तव्य हो र गर्नसके वास्तवमै स्व. नकर्मीका आंशिक भएपनि सपना साकार हुनेछन् र उनको आत्मालाई चीरशान्ति मिल्नेछ ।
अन्त्यमा, छ दशकको छोटो जीवन यात्रा र चार दशक लामो राजनीतिक यात्रामा राजकुमार नकर्मीले कीर्तिपुरवासीको मन, मस्तिष्कमा ‘राज’ गर्न सफल भएको छ । ‘नगर पिता’जस्तो महत्वपूर्ण जिम्मेवारीकै बीचमा आम नगरवासीको अभिभावकको आकस्मिक महाप्रस्थानको यात्राले उनका धेरै सपना र योजनाहरु अधुरै रहेको तथ्यले उनी राजनीतिक यात्राका ‘कुमार’नै ठहरिए भन्दा कुनै अतिशयोक्ति नहोला । शब्द श्रद्धाञ्जली, अलविदा दाइ ।

Categorized in विचार