STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

महानगरभित्र रङ्गीचङ्गी बत्ती हटाउन कार्यदलको सिफारिस

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २५, शुक्रबार

काठमाडौं- सुन्दरता र सजावटका लागि सडक किनारा, रूख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लबजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘शहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव दिएको छ।

शहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले आज काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोललाई प्रतिवेदन बुझाउँदै सिफारिसका विषयमा जानकारी गराएको हो।

गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र शहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो। 

यसका आधारमा मानन्धरको संयोजकत्वमा गठित समितिको सदस्यमा उद्यान तथा हरियाली प्रवर्द्घन आयोजनाका प्रमुख नवराज थापा, महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठ, सार्वजनिक निर्माण विभागका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेल थिए। यसैगरी वातावरण इन्जिनियर निशा कोइराला सदस्य सचिव थिए।

समितिले अध्ययनका क्रममा नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा इन्दुप्रसाद ढुङ्गेल, त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका जीवशास्त्री सहप्राध्यापक डा हरिप्रसाद शर्मा र हिमालय नेचरका चराचुरुङ्गी विज्ञ सन्देश गुरुङसहितको टोलीमा सहभागी गराएको थियो। 

प्रतिवेदन बुझिसकेपछि उपप्रमुख डङ्गोलले भनिन्, ‘शहरमा झिलीमिली बत्ती राख्ने विषयमा निर्णय गर्न र थप वैज्ञानिक अध्ययन गर्न आधार तयार भएको छ। प्रतिवेदनको थप अध्ययन गरेर निर्णय गर्छौँ ।’

अध्ययन समितिलाई सजावटका लागि रूख, बिरुवा सहितका संरचनामा बेरिएका बत्तीको गुणस्तर र प्रकृति, सवारी आवागमनमा यस्ता बत्तीले पार्ने असर, मानव दृष्टि (आँखा) मा असर, चराचुरुङ्गी र पर्यावरणमा पर्ने असर, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको अध्ययन विश्लेषण गर्ने कार्य क्षेत्र दिइएको थियो।

अध्ययनबाट सवारी आवागमन, जनस्वास्थ्य र पर्यावरणमा असर देखिने भए सजावटको विकल्प, बत्ती हानिकारक छन् भने बत्तीको प्रकृति र गुणस्तर परिवर्तन गरेर राख्न मिल्छ कि हटाउनुपर्छ, सुझाव दिन समितिले जिम्मेवारी पाएको थियो। यसबमोजिम समितिले जीवशास्त्री, प्राणीशास्त्री, चराचुरुङ्गी विज्ञलाई सहभागी गराएर अध्ययन गरेको हो। अध्ययनले ७ बुँदामा सुझाव दिएको छ। 

Categorized in उपत्यका