STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बेलायतमा डेल्फिक नेपालको चलचित्र सम्बन्धी कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण १, मंगलबार

नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अर्न्तराष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

शनिवार शुरु भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया र चलचित्र प्रदर्शनी, दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस सिनेमा इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमण कार्यक्रम गरेको थियो ।

यो कार्यक्रममा विकास बोर्डका अध्यक्ष भुवन केसीसहित नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली र नेपाल तथा बेलायतबाट नेपाली चलचित्रकर्मिहरु सहभागी भएका थिए ।

बेलायतको बजारमा नेपाली चलचित्र उपस्थिति, सम्भाव्यता, जटिलता, नेपाली डायस्पोराले खेलेको भूमिका, राज्यले गरेका प्रयासहरू, राज्यले निभाउनुपर्ने भूमिका, नेपाली सिनेमाको अर्न्तराष्ट्रिय बजारको लागि नेपाली डायस्पोरा कम्युनिटीले राज्यबाट गरेको अपेक्षा, नेपालको आर्थिक तथा सामाजिक विकासको लागि सिनेमाको अन्तर्राष्ट्रिय बजारको महत्त्व लगायतका विषयमा अन्तर्क्रिया भएको थियो ।

अन्तर्क्रियामा बोल्दै विकास बोर्ड अध्यक्ष भुवन केसीले प्रवासमा बस्ने चलचित्रकर्मीलाई नेपाली चलचित्रको बजारको अध्ययन गरेर मात्र चलचित्र निर्माण गर्न सुझाव दिए । 

बेलायतमा रहने नेपाली चलचित्रकर्मीले अन्तर्क्रियामा बोर्ड र समुदायसँग आफ्ना गुनासाहरू राखे । उनीहरूले युकेको बजारमा नेपाली चलचित्र विस्तारको पहलको लागि रहेका जटिलताहरूका बारेमा प्रस्ट पारे । अन्तर्क्रियामा चलचित्रकर्मी सहित करिब १५० जना विभिन्न क्षेत्र र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

पहिलो दिनको कार्यक्रममा यो वर्ष नेपालबाट अस्करमा सिफारिस भएको तथा विभिन्न अन्तर्राष्ट्रिय अवार्ड विजेता नेपाली सिनेमा ‘हल्कारा’ प्रदर्शन गरिएको थियो । नेपाललाई प्राकृतिक रूपमा नै खुल्ला छायांकन स्थलको रूपमा विश्वव्यापी प्रचार गर्न विकास बोर्डले तयार गरेको श्रव्य दृश्य सामग्री प्रदर्शन भएको थियो ।

दोस्रो दिन आइतबार बेलायतका लागि नेपाली राजदूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल भएको थियो । सो क्रममा बेलायतमा नेपाली चलचित्र र बेलायतको बजारबीच दूतावासले पुलको रूपमा काम गर्न सक्ने, बेलायतमा नेपाली चलचित्रको प्रर्वधनमा दूतावासले गर्न सक्ने सहयोग तथा दूतावासले नेपाली कला र संस्कृतिको लागि सम्पर्क व्यक्ति तोक्ने लगायत दीर्घकालीन प्रभाव हुनसक्ने विषयमा राजदूत आचार्यले सकारात्मक प्रतिक्रिया दिँदै आफूले गर्न सक्ने काम अगाडी बढाउने बताए ।

कार्यक्रमको तेस्रो दिन सोमवार लण्डन स्थित ब्रिटिस फिल्म इन्स्टिच्युट(BFI)मा सो इन्स्टिच्युट र ब्रिटिस फिल्म कमिसनका पदाधिकारीहरूबिच छलफल र BFI अवलोकन, ब्रिटिस सिनेमा इन्स्टिच्युटका पदाधिकारीसँग नेपाली सिनेमाले बिएफआईसँग गर्नसक्ने सहकार्य, नेपाली सिनेमा बेलायतमा छायांकन गर्दा प्राप्त हुने सुविधाहरू, पुरानो प्रविधिमा बनेका सिनेमाहरूको संरक्षण, डिजिटाईजेशन र ती सिनेमाहरूलाई सहज रूपमा सर्वसाधारणमाझ ल्याउन बिएफआईले चालेका कदमहरूको विषयमा जानकारी लिइएको थियो । 

कार्यक्रमको विषयमा बोल्दै नेशनल डेल्फिक काउन्सिल नेपालका उपाध्यक्ष जीवन पराजुलीले चलचित्रको प्रवर्धन चलचित्रकर्मीलाई मात्र गरेर नहुने जिकिर गरे ।

Categorized in सिनेमा