STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल–भारतबीचको सीमा–विवाद के हो ? नेपालको सिमाना लिम्पियाधुरासम्मै

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १४, बुधबार

निश्चल
लिम्पियाधुरा मुहानबाट निस्किएको नदी नै वास्तविक महाकाली नदी हो । यत्ति तथ्य मनन गरी नक्सा पल्टाउँदा लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालभित्रै पर्छ । तर लिपुलेकबाट आइरहेको नदीलाई महाकाली नदी मान्ने हो भने त्यसपारीको भूभाग भारत भयो, अनि त्यसको पश्चिममा बग्ने कालापानीको कुरा नै आएन । त्यसकारण लिम्पियाधुरा, कालापानी, लिपुलेकको विवादको चुरो भन्नु नै महाकाली नदी हो । नक्सा सन् १८१६ जनवरी २ मा ब्रिटिस हाइड्रोग्राफरले तयार गरेको नक्सामा लिम्पियाधुराबाट बग्ने नदीलाई ‘काली आर’ उल्लेख गरिएको रतन भण्डारीको भनाइ छ । भण्डारीले सन् १८२७ मा प्रकाशित जेम्स होस्र्ट सोर्गको नक्सामा पनि यही कुरा उल्लेख भएको जनाएका छन् । यतिमात्र नभई सन् १८५६ को सर्भेयर जनरलबाट प्रकाशित नक्सामा पनि लिम्पियाधुराबाट आउने नदीलाई नै काली नदी भनिएको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउनुहुन्छ । नेपालले यही नक्साको आधारमा कालापानीलगायतको भूभाग नेपालको हो भन्दै आइरहेको छ र सन् १९८१ मा बनाइएको संयुक्त प्राविधिक कार्यदलले पनि यही कुराको दाबी गर्छ । तर भारतले यी सबै नक्सालाई अवैज्ञानिक नक्सा भन्दै सन् १८७५ मा बनाइएको उर्दु भाषामा लेखिएको नक्सालाई अघि ल्याएर त्यसैलाई मान्नुपर्ने ढिपी गर्दैछ । नेपालले यसैलाई मान्नुपर्ने जरुरी पनि छैन । नेपाल सरकारको आफ्नै नक्सा भने नापी विभागले २०३२ सालमा मात्र छापेर प्रकाशनमा ल्याएको थियो । यसमा अन्तर्राष्ट्रिय सिमानाको रातो घेरा राखिएको थिएन । यसमा कालापानी पनि देखाइएको थिएन । कालापानी, लिपुलेक, लिम्पियाधुरा भारत र चीनबीच युद्धपश्चात् कालापानीमा भारतले नेपाललाई सोधेरै सन् १९६२ मा सेना राख्न ल्याएको चर्चा पनि अहिले चलिरहेको छ । यसलाई त्यति तन्काइरहनु जरुरी छैन । नेपालको भूमिमा यसप्रकार सेना रहेको कुरालाई दार्चुलाका प्रेमसिंह धामीलगायतले जनस्तरमा ल्याएपछि कालापानीको प्रचार पनि जनस्तरसम्म पुग्यो । त्यसपछि माले एमाले विभाजन भएको समय तत्कालीन अखिलका अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा कालापानी–मार्च भएको सर्वविदितै छ । यसले पनि जनतासामु यस विषयले प्रचार पायो । पाँच वर्षअघि सन् २०१५ मे १५ मा चीन र भारतबीच लिपुलेक भई सीमा व्यापार गर्ने कुरा आएपछि सर्वसाधारणको मुखमा पनि लिपुलेकको नाम झुण्डियो । त्यही समय लिपुलेकबाट नक्कली नदी बगाएर नेपालको भूभाग कब्जा गरिएको थियो, वास्तविक महाकाली नदी कुटीयाङ्दी हो, लिम्पियाधुरा हो भनी बुद्धिजीविहरुले प्रचारप्रसार गरे । वास्तवमा कुटीयाङ्दी लिम्पियाधुराबाट बगिरहेको महाकाली नदीकै स्थानीय नाम हो । नदीको मुहान त लिम्पियाधुरा नै हो । गुंजी गाउँ, नाबी र कुति गुंजी गाउँ, नाबी र कुति लिम्पियाधुराबाट बगिरहेको महाकाली नदीको पूर्वतर्फका गाउँहरु हुन् । यी गाउँका स्थानीय विसं २०१५ सालको चुनावमा सहभागी भएका थिए, अनि विसं २०१८ सालको राष्ट्रिय जनगणना हुँदा त्यहाँ खटिएका गणकहरुले नामावली संकलन पनि गरेको कुरा पत्रकार भैरव रिसालले भनिसकेपछि अहिले यी गाउँहरुको पनि चर्चा सुरु भएको छ । यहाँका स्थानीयहरुले नेपालकै मालपोतमा कर तिरिरहेको प्रमाण पनि अहिले सार्वजनिक भएको छ । गत नोभेम्बरमा भारतले नयाँ नक्सा प्रकाशित गरेपछि सीमा–विवाद पुनः सिर्जना भएको पत्रकार रिसाल बताउँछन् । यसमा पनि सबैभन्दा पूर्वमा पर्ने गुंजी गाउँको चर्चा धेरै छ । यस गाउँको पश्चिमतर्फ महाकाली नदी र पूर्वउत्तरबाट आइरहेको खोला मिसिने गर्छ । त्यहाँबाट मिसिएर बग्ने नदीको सम्बन्धमा भने कुनै विवाद छैन । यी तीनैवटा गाउँ नेपाल सरकारले नयाँ प्रकाशित गरेको नक्सामा पनि समावेश छ । यसप्रकार नेपालको कुल ३७४ वर्गकिलोमिटर क्षेत्र भारतले कब्जा गरिरहेको देखिन्छ । त्यसैले सवाल कालापानी र त्यहाँ भारतीय सेना रहनुमात्र होइन । भारतले बनाएको नयाँ सडक तिब्बतमा रहेको कैलाश मानसरोबर तीर्थयात्रामा धेरै भारतीय जाने गर्छन् । कतिपय सिक्किमको नाथु ला भएर जान्छन्, कतिपय नेपालको हिल्सा भएर जान्छन् त कतिपय तातोपानी भएर । पैदयात्रुहरु पिथौरागढ, धार्चुलाबाट लिपुलेकको बाटो समात्छन् । नजिकको बाटो भए पनि यातायात नभएकाले पैदल यात्रुमात्र हिँड्ने यस बाटोमा भारत सरकारले सडक बनाएको देखिन्छ । सडक निर्माण सकेको गत मे ८ तारिखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेसिङमार्फत् सडक उद्घाटन गरे । नेपालको भूमिमा यसरी सडक बनाएपछि नै यस विवादले चरम रुप लिएको हो । सुगौली सन्धि नेपालको पश्चिमी सिमाना काली नदी कायम हुने गरी त्यसको पूर्वको भूभाग नेपालका राजा र राजाका सन्तान, दरसन्तानले दाबी नगर्ने कुरा उल्लेख भएकाले यस सन्धिको चर्चा भएको छ । अहिले परिस्थितिले विषम मोड लिएर नेपाल र भारतबीचको विवाद बढेपछि महाकाली सन्धिको कुरा पनि बाहिर आइरहेको छ । साथै ग्रेटर नेपालको चर्चा फेरि पनि चुलिएको छ । स्वभावतः १९५० को सन्धिको कुरा पनि आउँछ नै ।
Categorized in विचार