STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दसैं वा मोहनी वा नवरात्र नै दुर्गा पुजा हो

Janjati Khabar – विजय शर्मा राजोपाध्याय | २०७७ कार्तिक ६, बिहिबार

दसैं वा मोहनी वा नवरात्र वा दसहरा जे भनिए पनि पूजा उपासनाको तरिका दुई थरी देखिन्छ। एउटा, सबैले देख्ने गरी जमरा राख्ने र अर्को आफ्नो परिवार बाहेक कसैले नदेख्ने गरी कलश वा घट सहित् जमरा राख्ने।

वैदिक उपासना अरुलाई प्रदर्शन गर्न रोक तोक छैन, तर तान्त्रिक उपासना गोप्य हुने गर्दछ। आफ्नो परिवार बाहेक, भान्जा भान्जीलाई समेत दसैं पूजा गरेको कोठामा जान अनुमति हुँदैन। अरुको घरमा दसैं वा मोहनी पूजा कसरी गरिन्छ, हामीले देख्न पाउदैनौ । त्यस कारण धेरैको घरमा दसैं पूजाको विषयमा पूजा तरिकाको बारे अलमल भएको देखिन्छ। यसो हुँदा धेरैको घरमा पूजा गर्ने पद्धति नजानिँदा दसैं र मोहनी एउटै होइन कि भन्ने शंकाले ग्रस्त छन केही दाजुभाइहरु।

कोही भन्छन, हामीले कहाँ नवदुर्गा मान्ने हो र, हामीले त अष्टमातृका पो मान्ने हो त। कोही भन्छन, नवदुर्गा नै मूल हुन्, कोही दश महा बिद्या मूल मान्छन आदि ।

कोही नेवार दाजुभाइ भने फेरि दसैंमा कुनै पनि देवता हामीले मान्नुपर्दैन, प्रकृति वा आफैंलाई पुज्ने हो, जमरा रोपिँदा हामीले कुनै देवता पुज्नुपर्दैन भन्दै पत्रिकामा लेख समेत छाप्छन् र नेपालभाषाका पत्रिकामा यिनै कुरा हरेक वर्ष छापिन्छन्। हामीबीचमै, नवदुर्गा हाम्रा देवता होइनन् भन्नेहरु देखेर हाँसो पनि उठ्छ । विचराहरु कहिले नि भक्तपुर पुग्या रैनछन् भन्ने लाग्दछ ।

दस दिन वा नौ रातसम्म उपासना गरी प्रसाद लिने कार्य  नै दसैंं हो। यसलाई शारदीय नवरात्र भनी सङ्कल्प वाक्य लिइन्छ, र उग्रचण्डा भवानीको विशेष पूजा गरिन्छ। साधारण भाषामा चण्डी, उग्रचण्डी, चण्डेश्वेरी, चण्डिका, आदि पनि भनिन्छ । अझ रमाइलो कुरा, यही देवीलाई चाइनामा चुन्थी को रूपमा पुजिँदो रहेछ । यसबारे GOOGLE Search गरी जानकारी लिन सकिन्छ। हाम्रोमा हिन्दु देवता मान्न नचाहनेहरु, आफूलाई पृथक देखाउन विविध नाटक गर्ने क्रममा हाल दसैं र मोहनी एउटै होइन, मोहनीमा देवी पुजिँदैन, पुजिए पनि बौद्ध-नेवारहरुले परम्परागत नाचमा सहभागी हुनुपर्ने अष्ट मातृका मात्र मान्ने आदि इत्यादि गफ दिएर नै समाजलाई दिग्भ्रमित पार्ने कार्य हुँदैछ।

तन्त्रमा मोहनी देवी साधन गरी आगम विधिले वामाचारले पूजा गर्नु उत्कृष्ट मानिन्छ। अहिले यसकाे धेरै जसो अवशेष मात्र बाँकी छ । प्रायः मान्छेहरुमा आगम दीक्षा छैन । दीक्षा नभई वामाचार गर्नै भएन, पुजिने देवता के के हुन्, मन्त्र के के हुन्, थाहा नै नहुदा पनि सो सम्बन्धी सांस्कृतिक विज्ञकाे चिनाउनु इच्छुक विद्वानहरु पनि धेरै छन्।

जे होस्, दसैं भनेको १० दिने गरिने साधना प्रक्रिया हो । याे ऋतु, समय, तिथिमिति, हावापानी सबै कुराले साधना योग्य समय हो। त्यसो त जम्मा गरी नवरात्री वर्षमा ४ वटा रहे पनि, चैतको र आश्विनकाे बाहेक अरुलाई गुप्त-नवरात्र भनिन्छ । अर्थात गोप्य साधना गर्ने समय, जसमा जो कोही ले साधना गर्दैनन् । त्यतिखेर पनि शक्ति उपासना गर्नेहरुले ९ रात र १० दिन साधना गर्छन्, १० ‍औं दिन प्रसाद झिक्छन्।

दसाैं दिनपछि पनि दसैं घरमा नित्य पूजा र राति आरती गर्नुपर्छ। यसमा अघिल्ला दिनका सामग्री नै प्रयोग गरिन्छ। चार दिनपछि चतुर्थी पूजा भनेर बल्ल देवताको ठाउँ सफा गरिन्छ, र राम्ररी सफा गरी, रगत इत्यादि पुछेर  देवतालाई राम्ररी राखेर फेरी चतुर्थी पूजाको संस्कारले पुजिन्छ।

भोलिपल्ट अर्थात पूर्णिमाका दिन साधारण मात्र पूजा गरी देवतालाई आ-आफ्नो स्थानमा राख्न लगिन्छ। यो एकादशीदेखी पूर्णिमाबीचको समय पनि दसैंको प्रसाद लिने र दिने समय भएकाले, साधना सक्किए पनि दसैंजस्तै उत्सव मनाइन्छ। देवता भने उनै मूललाई नै पुजिन्छ।

यहाँ दिइएको देवीको मुर्ती काठमाडौं कुमारी घरको तोरणमा देख्न सकिन्छ। यिनै हुन् मोहनि द्य:।

 

Categorized in विचार