STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

चलचित्रको पर्दामा देखिंदैन कथा शहीदको

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १६, मंगलबार

चलचित्रहरु धेरै बन्न गरे पनि चलचित्रहरुका कथामा विविधता नपाइएको गुनासोहरु पनि त्यतिकै सुनिनमा आउने गरेका छन् ।

चलचित्रको महासागर मानिने भारतमा वर्षेनी हजारौंको संख्यामा चलचित्र बन्ने गरेका छन् । विशेषगरी हिन्दी भाषामा पनि वर्षको डेढ दुई सयको संख्यामा चलचित्र बन्ने गरेका छन् । सवा अर्बभन्दा बढी जनसंख्या भएको देशमा हिन्दी भाषाको चलचित्र बन्ने गरेको संख्याको अनुपातमा नेपाली वर्षको एक सय वटा चलचित्र बन्नु भनेको धेरै हो । यत्तिका धेरै संख्यामा चलचित्र बन्ने गरेतापनि चलचित्रको कथामा शहीदलाई समेटेका चलचित्रहरु भने ज्यादै न्यून छन् ।

भारतको चर्चा गर्दा त्यहाँ पनि शहीदको कथालाई पर्दामा प्रस्तुत गरिएका उदाहरणहरु थोरै छन् । हिन्दी चलचित्रको इतिहास खोतल्ने हो भने त्यहाँ सन् १९४८ मा पनि “शहीद” नामक चलचित्र बनेको थियो भन्ने कुरा धेरै कम चर्चामा आउने गरेको छ, जबकी त्यस चलचित्रमा दिलिपकुमार जस्ता नाम चलेका अभिनेताले अभिनय गरेका थिए । यो चलचित्रमा कुनै निर्दिष्ट शहीदलाई कथाको पात्रका रुपमा नभई अंग्रेज सरकारविरुद्धको संघर्षमा उत्रेका क्रान्तिकारीहरुलाई पात्रका रुपमा प्रस्तुत गरिएको थियो ।

सन् १९६५ मा बनेको “शहीद” शिर्षकको चलचित्रलाई देशभक्तिले भरीपूर्ण त्यस्तो चलचित्रको रुपमा लिइन्छ, जुन चलचित्र भारतको स्वतन्त्रता संग्रामको क्रममा शहादत प्राप्त गरेका शहीद भगत सिंहको बारेमा बनेको थियो । यसमा त्यतिबेलाका लोकप्रिय कलाकार मनोजकुमारले शहीद भगत सिंहको भूमिका निर्वाह गरेका थिए ।

शहीद भगत सिंह भारतीय चलचित्रपटमा सबभन्दा बढी चित्रण गरिएका शहीद पात्र हुन् । यही पात्रलाई लिएर पछी सन् २००२ मा आएर एकै पटक दुईवटा चलचित्र निर्माण भएको थियो । ती मध्ये एउटा चलचित्र “द लिजेण्ड अफ भगत सिंह”मा अजय देवगनले प्रमुख पात्र भगत सिंहको रुपमा अभिनय गरेका थिए भने अर्को चलचित्र “३१ मार्च १९३१ ः शहिद भगत सिंह” बबी देवलले सोही पात्रको रुपमा अभिनय गरेका थिए ।

त्यतिमात्र नभई सन् २००६ मा भारतको स्वतन्त्रता संग्रामसंग सम्बद्ध ती शहीदहरुलाई प्रतीकात्मक पात्रका रुपमा प्रयोग गरेर आधुनिक परिवेशमा बनाएको “रङ्ग दे बसन्ती”मा पनि चन्द्रशेखर आजाद, राजगुरु लगायत भगत सिंहलाई प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको थियो । यही “रङ्ग दे बसन्ती”मा प्रयोग गरिएको शैलीलाई पछ्याउँदै निर्देशक शङ्कर घिमिरेले बनाएको “वीरताको चिनो” चलचित्रमा आधुनिक परिवेशको कथा प्रस्तुत गरिएको थियो भने देशमा व्याप्त भ्रष्टाचार र अन्यायको विरुद्ध आवाज उठाउन र संघर्ष गर्न तम्सेका युवाहरुलाई राणा सरकारविरुद्धको संघर्षमा बलिदान भएका शहिदहरु शुक्रराज शास्त्री जोशी, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई प्रतीकको रुपमा प्रयोग गरिएको थियो ।

यो चलचित्रमा अन्यायको विरुद्ध आवाज उठाउने पात्रहरुले शहादत प्राप्त गरेको देखाइएको छ । र चलचित्रको अन्त्यमा संघर्ष गर्दै मारिन पुगेका ती पात्रहरुको निधन हटौंडाको शहीद स्मारक पार्क भएको देखाएर ती पात्रहरु पनि शहीद नै हुन् भनेर देखाउने प्रयास गरेको देखिन्छ ।

यसरी शहीदहरुलाई प्रतीकात्मक रुपमा प्रयोग गरिएको अर्को चलचित्र “चंखे शंखे पंखे” पनि हो । यो चलचित्रमा पनि देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध आवाज उठाउने युवाहरुलाई आन्दोलनकारीको रुपमा प्रस्तुत गर्दै उनीहरुलाई शहीद कै रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

यसरी चलचित्रको पर्दामा प्रतीकात्मक रुपमा शहीदहरु प्रस्तुत गरीएका यी चलचित्रहरु बाहेक पर्दामा वास्तविक पात्रलाई नै पर्दामा प्रस्तुत गरीएको चलचित्र “वीर गणेशमान” हो । नेपालको क्रान्तिको इतिहासमा सात साल, छत्तीस साल र छयालिस साल गरी तीन वटा संघर्षको नेतृत्व गरेका र इतिहासमा लौहपुरुषको संज्ञा पाएका क्रान्तिकारी योद्धा गणेशमान सिंहको जीवनीमा बनेको “वीर गणेशमान” चलचित्रमा वि.सं. १९९७ सालमा शहादत प्राप्त गरेका चार शहीदहरु शुक्रराज शास्त्री जोशी, दशरथ चन्द, धर्म भक्त माथेमा र गंगालाल श्रेष्ठलाई पात्रका रुपमा प्रस्तुत गरिएको छ । यो चलचित्रमा ती चार शहीदलाई दिइएको मृत्युदण्डको चित्रण गरिएको छ ।

हालसम्मको नेपाली चलचित्रको इतिहास हेर्ने हो भने चार शहीदलाई पर्दामा पात्रका रुपमा प्रस्तुत गरिएको चलचित्र “वीर गणेशमान” मात्रै हो ।

“वीर गण्ोशमान” चलचित्रमा बाहेक शहीदको जीवनलाई समेटेको चलचित्र भनेको “देउमाईको किनारमा” पनि एउटा हो । यो चलचित्र शहीद रत्नकुमार बान्तवाको शहादतमा आधारित चलचित्र हो र करिब बीस पच्चीस वर्ष अगाडि बनेको यो चलचित्र भिडियो प्रविधिमा बनेको चलचित्र हो । यी चलचित्रहरु बाहेक अरु चलचित्रमा शहीदको कथा वा शहीदलाई पात्रको रुपमा प्रस्तुत गरेको देखिंदैन ।

यद्यपि नेपाली भाषामा “शहिदगेट”, “आन्दोलन”, “क्रान्ति” शीर्षकमा पनि चलचित्र बनेका छन् तर ती चलचित्रहरु कुनै राजनैतिक आन्दोलनसँग सम्बन्ध भएका चलचित्रहरु भने होइनन् । यी चलचित्रहरु विशुद्ध मनोरञ्जन प्रदान गर्ने उद्देश्यले बनाइएका व्यावसायिक चलचित्रहरु हुन् ।

उसो त हिन्दी भाषामा पनि “आन्दोलन” शीर्षकमा बनेको सञ्जय दत्त र गोविन्दाले अभिनय गरेको एउटा चलचित्र पनि कुनै क्रान्तिमा आधारित नभई विशुद्ध व्यापारिक उद्देश्यले बनाइएको चलचित्र हो । तर भारतका ख्यातिप्राप्त चलचित्रकर्मि मनोजकुमारले बनाएको “क्रान्ति” शीर्षकको चलचित्र भने कुनै तोकिएका शहीदहरुका बारेमा नभए पनि भारतमा अग्रेज सरकारविरुद्ध सन् १८२५ देखि १८७५ बीचमा भएको संघर्षलाई चित्रण गरिएको चलचित्र हो ।

यसरी कतिपय चलचित्रहरुको शीर्षकले क्रान्ति र आन्दोलनमा शहादत प्राप्त गरेकाहरुका बारेमा बनेको चलचित्र जस्तो आभाष गराए पनि ती चलचित्रहरु व्यापारीक उद्देश्यबाट अभिप्रेरित भएर बनाएको देखियो भने “शहीद” शीर्षककै एउटा नेपाली चलचित्र भने राणा सरकारविरुद्ध होमिएका वा २०४६ सालको जनआन्दोलनमा शहादत प्राप्त शहीदको बारेमा नभइ जनयुद्धकालीन संघर्षमा शहादत प्राप्त गरेको शहदीको कथालाई पर्दामा प्रस्तुत गरिएको चलचित्र हो ।

नेपालको क्रान्तिको इतिहास हेर्ने हो भने राणा सरकारविरुद्ध भएको क्रान्ति अनि ०४६ सालमा बहुदल प्राप्तिका लागि भएको क्रान्तिको महत्वपूर्ण भूमिका छ । छयालिस सालको आन्दोलनलाई युगान्तकारी संघर्ष पनि भन्ने गरिएको छ ।

२०४६ साल अगाडि निरंकुश पंचायतकालीन समयमा धेरै घटना, काण्ड र आन्दोलनहरु भए । यही घटना, काण्ड एवं आन्दोलनको युगान्तकारी कथामा आधारित “बलिदन” चलचित्रलाई पनि यहाँ प्रसंगवश उल्लेख गरिएको छ । यस “बलिदान” चलचित्रमा पंचायतकालमा एक अंचलाधीशले दिदीबहिनी नमिता सुनितालाई बलात्कार पछि हत्या गरेको सत्यघटनाका दृष्यहरुका साथै पंचायतकालमा परिवर्तनकारी युवाहरुको आन्दोलनलाई मुखाकृत गरिएको छ ।

समग्रमा भन्ने हो भने “बलिदान” चलचित्रमा पंचायतकालमा भएको आन्दोलनलाई चित्रण गरिएको छ । हास्य अभिनयका लागि ख्याति कमाएका हरिवंश आचार्यले यो चलचित्रमा एक आन्दोलनकारीको रुपमा गम्भीर भूमिकामा अभिनय गरेर सबैको मन जितेका थिए । चलचित्रमा हरिवंश आचार्यले निर्वाह गरेको पात्रले पनि शहादत प्राप्त गर्दछ अर्थात शहीद हुन्छ र यो चलचित्रमा त्यो पात्रलाई पंचायतकालको क्रान्तिमा शहादत प्राप्त गरेका शहीदहरुको प्रतीकको रुपमा मात्रै प्रस्तुत गरिएको छ । कुनै निर्दिष्ट शहिदको नाम भने दिइएको छैन ।

यसरी वर्षको एकसय वटाको हाराहारीमा चलचित्र बन्न थालेको नेपाली चलचित्र जगतमा बनेर शहीदबारे सम्बोधन भएका चलचित्रहरु यतिमात्रै देखिन्छन् । यी बाहेक अरु चलचित्रहरुमा पनि शहीदबारे सम्बोधन वा उल्लेख के कसरी भएको छ भन्ने कुरा भने हाललाई अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

Categorized in सिनेमा