STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

काठमाडौं उपत्यकाको तापक्रम र हावाको गुणस्तर घट्दै

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर १२, बुधबार

काठमाडौं — देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बुधबार बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ । 

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ । 

अस्वस्थ बन्दै काठमाडौंको हावा

काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा वायु प्रदूषण बढेको छ। नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म प्रदूषण धेरै हुने गरेको छ।

वायु प्रदूषणका कारण केही दिनयता विशेषगरी बिहानको समयमा आकाश धुम्मिने गरेको छ र काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा तुँवालो लाग्ने गरेको छ भने पश्चिम तराईका केही स्थानमा कुहिरो र पुर्वी तराईका भूभागमा हल्का हुस्सु लाग्ने गरेको छ।

एक्यूआई इन्डेक्स

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले देशभरका स्टेसनमार्फत वायुको गुणस्तर मापन गर्दै आएको छ। काठमाडौंको रत्नपार्क, चितवनको भरतपुर, ललितपुरको खुमलटारमा वायु गुणस्तर सूचकाङ्क (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) अस्वस्थ बनेको छ।

यसैगरी भक्तपुर, नेपालगन्ज, धनकुटामा वायुको गुणस्तर केही संवेदनशील समूहका लागि अस्वस्थ रहेको छ भने अछाम र शंखपार्कको हावाको अवस्था मध्यम खालको छ। गत बिहीबारदेखि आजसम्म भरतपुरको एक्यूआई १५६ रहेको छ भने हावामा पीएम २.५ को मात्रा बितेको २४ घण्टामा ८०.९९ पुगेको छ। खुमलटारमा एक्यूआई ७६ एवं पीएम २.५ को मात्रा ७४.२८ रहेको छ। रत्नपार्क स्टेसनको एक्यूआई ८८ रहेको छ भने पीएम २.५ को मात्रा हिजो ८४.९९१ थियो।

२०७७ सालमा काठमाडौं विश्वमै सबैभन्दा बढी प्रदूषित शहर भएको थियो। त्यति वेला एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४०० नाघेको थियो। संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रमको प्रतिवेदनअनुसार संसारभर हरेक वर्ष ८ मिलियनभन्दा भन्दा धेरै असामयिक मृत्युको कारण वायु प्रदूषण बनेको छ।

संसारको ९९ प्रतिशत जनसंख्या हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी रहेको स्थानमा बसोवास गरिरहेका छन्। यद्यपि प्रदूषणको अवस्था, स्रोतहरू देश र क्षेत्र अनुसार फरकफरक रहेको छ। अफ्रिका, एसिया र मध्यपूर्व एसियाका नागरिकहरू अन्य क्षेत्रका नागरिकहरूको तुलनामा अत्यधिक प्रदूषित हावामा सास फेरिरहेका छन्। दक्षिण एसियाका नेपाल, भारत, बंगलादेश, पाकिस्तानको हावामा पीएम २.५ को मात्रा उच्च रहने गरेको छ।

एसियाका अधिकांश देशमा भने वायु गुणस्तरको अवस्था नाजुक रहँदै आएको देखिन्छ। संसारभरका प्रदूषित शहरको सूचीमा नेपालको काठमाडौं तेह्रौं स्थानमा छ र एक्यूआई १२६ मा झरेको छ जुन संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ। पाकिस्तानको लाहोर र भारतको दिल्लीको हावा निकै अस्वस्थ बनेको छ भने भारतको कोलकाता, मुम्बई बंगलादेशको ढाका लगायतका शहरमा प्रदूषित भएको छ। 

एक्यूआई ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, ८१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ। 

प्रदूषणको कारण

हिउँदमा हावा कम चल्ने र पानी पनि कम पर्ने हुँदा प्रदूषणको मात्रा बढ्ने विज्ञ बताउँछन्। तत्काल पानी पर्ने सम्भावना नरहेकाले पनि वायुमण्डलमा भएका धुलो र धुवाँका कण हट्ने देखिएको छैन। 

वातावरण विभागका अनुसार वायु प्रदूषणको मुख्य कारणको रूपमा उद्योग कलकारखाना र सवारीसाधनबाट निष्काशन हुने धुवाँ, वन डढेलो, खुला रूपमा फोहर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो आदि हुन्।

प्रदूषण नियन्त्रणमा प्रयास

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरण गर्न ठोस तथा प्लास्टिकजन्य फोहरसँगै कृषिजन्य अवशेष नजलाउन अनुरोध समेत गरिसकेको छ।

यसैगरी सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धूलोको यथोचित नियन्त्रण गर्न पनि विभागले विशेष अनुरोध गरेको थियो।

काठमाडौं महानगरपालिकाले पनि प्रदूषण नियन्त्रणका लागि जनचेतना फैलाइरहेको जनाएको छ। ‘जाडो छल्न जथाभावी दाउरा इत्यादि नबाल्न, पानी राखेर मात्र धुलो बढार्न प्रोत्साहित गर्छौ’, प्रवक्ता नवीन मानन्धरले भने‚ ‘स्वच्छ हावा निर्माण गर्ने हाम्रो प्रयास गरिरहेका छौं।’

सावधानी अपनाउन सुझाव

वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन रूपमा असर गर्ने अध्ययनको निष्कर्ष छ। नेपालमा वायु प्रदूषणका कारण हुने मृत्युदरमा मस्तिष्कघातबाट ३७ प्रतिशत, मुटुरोगबाट ३४ प्रतिशत, फोक्सोको क्यान्सरबाट हुने मृत्युदर ३४ प्रतिशत र नव जात शिशु तथा बालबालिकामा हुने मृत्युदर २२ प्रतिशत रहेको सरकारी तथ्यांक छ।

विशेषगरी वृद्धवृद्धा, बालबालिका, श्वास प्रश्वास, मुटु रोगी, दीर्घ रोगी साथै गर्भावस्थाको महिला  बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

Categorized in स्वास्थ्य-मौसम