STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आउँदो निर्वाचनका लागि अहिलेदेखि उम्मेदवार छनोट गर्न अपरिहार्य

Janjati Khabar – ललेन्द्र शाक्य | २०८० श्रावण ११, बिहिबार

निर्वाचन सम्पन्न भएको भर्खर बर्षदिन कटियो । किन अहिलेदेखि आउँदो निर्वाचनका लागि उम्मेदवार छनोट गर्नुपर्ने हो ? समय धेरै बाँकी छ ? निर्वाचनमा प्रतिस्पर्धा गर्ने विभिन्न पार्टीहरुले यही सोँच राख्छन् नेतादेखि कार्यकर्तासम्मले ? वास्तवमा यो सोँच गलत सोँच ठहर हुन्छ ? यदि निर्वाचन हुनु केही समय अगाडि मात्र उम्मेदवार छान्ने हो भने त्यो पार्टी जनहित एवं भूमिहित पार्टी हुनै सक्दैन, मात्र त्यो पार्टी राजनीतिक एवं दलगत तथा व्यक्तिगत स्वार्थमा तल्लिन पार्टीको रुपमा गनिन्छ । मात्र चुनावको केही दिन अगाडि छान्ने उम्मेदवार एवं विजयी हुने उम्मेदवार देश र जनताका लागि हैन, दल र व्यक्तिको स्वार्थसिद्ध गर्न मात्र उम्मेदवार भएको र विजयी भएको ठहर हुनेछ ।  यही मान्यतालाई देशमा यही सिलसिला चल्दै आइरहेको छ । कीर्तिपुर नगरको सवालमा पनि यो स्वयंसिद्ध तथ्य भइरहेको अवस्था देखिन्छ ।

निर्वाचन सम्पन्न भए लगतै पार्टीहरुले अर्को निर्वाचनका लागि उम्मेदवार हुने र हुन चाहने व्यक्तिहरु छनोट गरी उम्मेदवार हुन इच्छुक व्यक्तिहरुलाई कुन पदमा उम्मेदवार हुने हो, त्यो पक्षमा पूर्ण रुपमा प्रशिक्षण दिने व्यवस्था गर्नु पर्दछ, अनि मात्र अर्को निर्वाचनमा जनताले जुनसुकै पार्टीका होस्, सक्षम उम्मेदवार पाउने  छ ।

उम्मेदवार हुन इच्छुक व्यक्तिसंग शैक्षिक योग्यतादेखि अनुभवहरु हुनुप¥यो । हालको परिस्थितिमा शैक्षिक योग्यता र अनुभव नै ठूलो कुरो हुन आउँछ । उम्मेदवार हुन इच्छुक व्यक्तिहरुको शैक्षिक योग्यता र अनुभवलाई प्रयोग गरी निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरुले आ–आफ्नो क्षेत्रको भौगोलिक संरचना, विकास निर्माणका पाटोहरु, जनता एवं आफ्ना क्षेत्रका मतदाताहरु  कुन परिस्थितिमा गुज्रिरहेका छन्, सोको विषयमा अध्ययन अनुसन्धान गर्न लगाउनु नितान्त आवश्यकता र अपरिहार्य देखिन्छ । यसरी विभिन्न पार्टीले आउँदो निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुलाई  अध्ययन अनुसन्धान तथा फिल्ड भ्रमण गराएको खण्डमा चार वर्ष पनि नपुग समय हुन आउँछ । चुनावको केही समय अगाडि मात्र चुनिने उम्मेदवार मात्र ढोंगी उम्मेदवारमा सावित हुनेछ । उसंग राम्रो शैक्षिक योग्यता र अनुभव भए पनि देश र जनताको हकहितको कार्य गर्न असक्षम हुनेछ र मात्र पार्टी र व्यक्तिगत स्वार्थमा लिप्त हुनेछ, यो स्वयंसिद्ध तथ्यमा सावित हुनेछ ।

अहिलेदेखि आउँदो निर्वाचनमा जुन व्यक्ति उम्मेदवार हुन इच्छुक छ, त्यो व्यक्तिले टोल टोलमा, समाजमा कुन परिस्थिति सिर्जित भइरहेको छ, ‘फिल्ड अप्रेशन’को रुपमा गई ती ठाउँको सकारात्मक परिस्थितिलाई अझ परिमार्जित कुन तरिकाले गर्न सकिन्छ ? अनि नकारात्मक परिस्थितिलाई क्न माध्यमबाट समाधान गर्न सकिन्छ ? जनता र आफ्नो ठाउँको समृद्धि एवं विकासका लागि कस्ता पाईला चाल्नु पर्दछ भन्ने विषयमा सरिक गराई निःस्वार्थ भावनालाई अंगिकार गर्न  पार्टीले प्रशिक्षित गराउनु पर्ने आजको परिस्थितिमा नितान्त आवश्यक देखिन्छ । यसरी गर्न सकिएन भने आउँदो निर्वाचनमा जुनसुकै पार्टीका होस्, ती पार्टीबाट उम्मेदवार बन्ने मात्र स्वार्थसिद्धका लागि मात्र चुनाव लडेका हुन् भन्ने भावना जनसमुदायले जागृत गर्नुपर्ने देखिन्छ ।

लौहपुरुष वीर गणेशमान सिंहले भने जस्तै जनता भेंडा नै हुन् भन्ने कथनलाई बास्तविकतामा उतारी जनताहरु केही नसोची त्यही पार्टीको लहलहैमा लागियो भने यहाँ परिवर्तनको कुनै सम्भावना रहँदैन । त्यही भोट दिइयो, जिताइयो, माछा माछा भ्यागुतामैं समय बित्छ । त्यही नेता कार्यकर्ता र पार्टीलाई लुट्न कान्छा लुटमैं ढलेकेको यथार्थ सिद्ध हुनेछ जनताबाट ।

यसरी अहिलेदेखि आउँदो निर्वाचनमा उम्मेदवार हुन इच्छुक व्यक्तिहरुलाई देश र जनताका हकहितका लागि समर्पित गराउने योजनाका साथ प्रक्षिणत एवं फिल्ड अपरेशनमा लगाइएको खण्डमा त्यही पार्टीको जीत हुनेछ, सक्षम एवं कर्मठ उम्मेदवारको जीत हुनेछ ।

अहिलेको परिप्रेक्ष्यमा युवाहरु नै हुन् देशको सर्वेसर्बा । बुज्रुकहरु त अभिभावक हुन् सल्लाहकार स्वरुपको । त्यसैले आउँदो निर्वाचनमा विभिन्न पार्टीहरुले युवा जोशलाई अगाडि ल्याउनुपर्ने नितान्त आवश्यकता र अपरिहार्यता देखिन्छ । ती उम्मेदवार हुन इच्छुक व्यक्तिहरुलाई अहिलेदेखि नै वृहत्त कसरतमा लगाउनु पर्दछ । अनि ती इच्छुकहरुमध्येबाट सक्षम एवं जनताका प्यारा उम्मेदवारलाई चुनावमा प्रतिस्पर्धा गर्न मैदानमा उतार्न पर्दछ । यसो भएको खण्डमा जुनसुकै पार्टीका उम्मेदवारको जीत होस्, जनताले राहत पाउनेछ । जनताको मनमस्तिष्कमा मेरो उम्मेदवार भन्ने आभासको बास हुनेछ ।

तर यहाँ ‘आफू भलो त जगत भलो’ कथनलाई आत्मसात गर्ने नेता कार्यकर्ताहरुको भयावह स्थितिका साथ बिगबिगी भइरहेको सम्पूर्ण जनताले आभास गरिसकेको परिस्थित सिर्जना भइसकेको छ । यहाँ पार्टीभित्र पनि नातावाद कृपावादको जरो बलियो देखिन्छ । यहाँको सन्दर्भमा त्यही नातावाद कृपावादका कारण गएको निर्वाचनमा  कुनै कुनै पार्टीहरु नांगो एवं पट्टासाफ भएको यथार्थ बुलन्द र प्रमाणको रुपमा तरंगित छ । पार्टीहरुभित्र पनि राम्रो, सक्षम र कर्मठ व्यक्तिलाई पन्छाई आफ्नो पक्षलाई बढावा दिने र पूर्वाग्रहका साथ पन्छाउने परम्परा जरैदेखि देखिन्छ ।  यस्ता ब्यवहारका कारण असक्षम व्यक्तिहरुले राज गरिरहेका छन् यहाँ । त्यसैले अब आउँदो निर्वाचनमा यस्ता फोहरी खेलको अन्त्य होस् । सिद्धान्तवादी राजनीतिलाई फोहरी खेलबाट स्वच्छ, निःस्वार्थ एवं निष्पक्ष खेलको रुपमा परिणत गर्न सकोस् सम्पूर्ण पार्टीहरुले । सक्षम, देश र जनताको भलो चाहने, आफू विजयी भइसकेपछि जुनसुकै पार्टीका समर्थक जनता होस्, पूर्वाग्रह राखी ब्यवहार नगर्ने तथा ‘मेरो जनता’ भन्ने उम्मेदवार छनोट गर्नुपर्ने आजको परिस्थितिको नितान्त आवश्यकता र अपरिहार्य देखिन्छ ।

Categorized in विचार